मोरङको पथरीशनिश्चरेमा पतिको कुटाइबाट पत्नीको मृत्यु

विराटनगर / मोरङको पथरीशनिश्चरेकी एक जना युवतीको आफ्नै पति (श्रीमान)को कुटाइबाट ज्यान गएको छ । मोरङ प्रहरीका डीएसपी मञ्जिल मुकारुङका अनुसार पथरीशनिश्चरे नगरपालिका–२ बुद्ध चोकका ३३ वर्षीय जय शर्माले प्लाष्टिकको पाइपले कुटेर पत्नी (श्रीमती) १९ वर्षीया पूजा विकको हत्या गरेका हुन् । मादक पदार्थ सेवन (मापसे) गरेर घरमा आएका जयले गत पुस ३० गते पत्नीमाथि कुटपिट गरेको प्रहरीले जनाएको छ ।

पतिको कुटाइबाट गम्भीर घाइते भएकी पूजालाई उपचारका लागि विराटनगरको नोबेल शिक्षण अस्पतालमा भर्ना गरिएको थियो । पूजाको टाउको र शरीरका विभिन्न भागमा चोट लागेको थियो । गम्भीर अवस्थामा अस्पताल भर्ना गरिए पनि उपचार हुन नसकेपछि फर्काएर घर लैजाँदै गर्दा शनिबार साँझ बाटैमा पूजाको मृत्यु भएको डीएसपी मुकारुङले बताए । पत्नीको हत्यामा संलग्न जयलाई पक्राउ गरिसकिएको र उनीविरुद्ध कर्तव्य ज्यान मुद्दा चलाउने तयारी भइरहेको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया