छुट्टाछुट्टै सवारी दुर्घटनामा २ जनाको मृत्यु

इटहरी / मोरङ र सुनसरीका दुई छुट्टाछुट्टै स्थानमा बुधबार राति भएको सवारी दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ ।

मोरङको उर्लाबारी नगरपालिका–७ मा बुधबार राति ७ः४५ बजे भेन र मोटरसाइकल एक आपसमा ठोक्किई दुर्घटना हुँदा मोटरसाइकल चालकको मृत्यु भएको हो । पूर्वपश्चिम राजमार्गमा पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको को १ च ३६४४ नम्बरको भेन र विपरीत दिशातर्फ जाँदै गरेको ना १३ प ७६३२ नम्बरको मोटरसाइकल एक आपसमा ठक्कर खाई दुर्घटना हुँदा घाइते भएका मोटरसाइकल चालक स्थानीय २१ वर्षीय पवन लिम्बूको उपचारको क्रममा बीएन्डसी अस्पताल बिर्तामोडमा मृत्यु भएको १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।

यसैगरी सुनसरीको कोसी गाउँपालिका–३ को भित्री सडकखण्डमा ट्याक्टरको ट्रलीले किचेर १ जनाको मृत्यु भएको छ । बुधबार साँझ ६ बजे उखु लोड गरी डोरीले बाँध्ने क्रममा एक्कासी ट्याक्टरको ट्रली पल्टेर किच्दा स्थानीय ४० वर्षीय कुमार उरावको घटनास्थलमा नै मृत्यु भएको हो । दुबै घटना सम्बन्धमा विस्तृत अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया