सशस्त्र प्रहरीद्धारा दुई करोड बराबरका तस्करीका सामान बरामद

विराटनगर । सशस्त्र प्रहरीले पछिल्लो दुई महिनाको अवधिमा प्रदेश १ का विभिन्न जिल्लाबाट झण्डै दुई करोड मूल्य बराबरको तस्करीका सामान बरामद गरेको छ । अवैध तरिकाले नेपालबाट भारत र भारतबाट नेपालतिर तस्करी गर्दै गरेको अवस्थामा सशस्त्रले एक करोड ९८ लाख ३८ हजार आठ सय ३४ रूपैयाँ बराबरको लत्ताकपडा, चिनी, सूर्ति तथा किराना सामग्री बरामद गरेको हो । सशस्त्र प्रहरी बल प्रदेश १ का प्रमुख डिआइजी कमल गिरीका अनुसार चोरी तस्करीका सामान नियन्त्रणमा लिएर कारबाहीका लागि भन्सार कार्यालयमा बुझाउने गरिएको छ ।

भारतसँग सीमा जोडिएका जिल्लामध्ये इलामबाट २६ लाख ६२ हजार चार सय १०, झापाबाट ७७ लाख ४४ हजार सात सय ५१, मोरङबाट ३४ लाख ८६ हजार नौ सय ८९ र सुनसरीबाट १३ लाख २१ हजार ५६ रूपैयाँ बराबरको सामग्री बरामद गरिएको जानकारी गिरीले दिए । उनका अनुसार १ नम्बर बराह बाहिनी इटहरीबाट खटिएको टोलीले ४६ लाख दुई हजार छ सय २८ रूपैयाँ बराबरको तस्करीका सामग्री नियन्त्रणमा लिएको छ ।

सशस्त्रले ठुलो परिणाममा लागुऔषध एवम् प्रतिबन्धित औषधि पनि नियन्त्रणमा लिएको छ । एक सय ९१ किलोग्राम गाँजा, १३ पिस ट्रामाडोल, १६ ग्राम तीन मिलिग्राम ब्राउन सुगर ९खैरो हेरोइन०, चार सय ९२ ट्याब्लेट नाइट्रोजेपाम, ४२ बोतल इस्कुफ कफ सिरप, ९५ एम्पुल लुपिजेसिक, १८ एम्पुल डाइजापाम, १८ एम्पुल फेनारगन, १० पत्ता नाइट्रोसन, ४१ एम्पुल एभिल र एक सय ५९ ट्याब्लेट स्पास्मोप्रोक्सिभन बरामद गरिएको सशस्त्रले जनाएको छ ।

नाेट ः यस अघी प्रयाेग गरिएकाे तस्विर अार्काइभबाट २ बर्ष पुरानाे पर्न गएकाेले पिडित पक्षकाे अनुराेधमा तस्विर परिवर्तन गरिएकाे छ । सम्बन्धित वर्गमा पर्न गएकाे असुविधाप्रती पूर्वेली न्यूज क्षमाप्राथी छ ।

तपाईको प्रतिक्रिया