उर्लाबारीका अभिषेक चौधरीको हत्यामा संलग्न थप दुई पक्राउ

विराटनगर / मोरङको उर्लाबारी ८ का १९ वर्षीय अभिषेक चौधरीको हत्यामा संलग्न थप दुई प्रकाउ परेका छन् । उर्लाबारी–७ का २७ वर्षीय अभिषेक लिम्बू र उर्लाबारी–८ का २८ वर्षीय विजय लिम्बूलाई जनालाई प्रहरीले पक्राउ गरेको हाे । पक्राउ परेका दुवै जना अभिषेक चौधरी हत्या कान्डका मुख्य अभियुक्त हुन् । इलाका प्रहरी कार्यालय उर्लाबारीका प्रहरी निरीक्षक राजाराम खड्का नेतृत्वको टोलीले मोरङको सुनवर्षी नगरपालिका–८ सिक्टीबाट दुवै जनालाई पक्राउ गरेको हो । उनीहरुलाई प्रहरीले आइतबार जिल्ला अदालत मोरङमा पेस गरेको छ ।

१५ जनाको संख्यामा आएको समूहले गत साउन ११ गते दिउँसो चौधरी र उनीसँगै रहेका २१ वर्षीय सुशन धामीमाथि छुरा हानेको थियो । छुरा प्रहारबाट गम्भीर घाइते भएका चौधरीको त्यही दिन झापाको बिर्तामोडस्थित बी एन्ड सी अस्पताल पुर्‍याउनेवित्तिकै मृत्यु भएको हो । सुशन उपचारपछि निको भएर डिस्चार्ज भइसकेका छन् ।

घटनामा संलग्नमध्ये उर्लाबारी–८ का २२ वर्षीय राकेश कार्की, १९ वर्षीय पवन भनिने हेमराज कार्की, २१ वर्षीय योगेश विक, १९ वर्षीय निशान राई, उर्लाबारी–७ का २० वर्षीय अञ्जन लिम्बू, उर्लाबारी–१० का २० वर्षीय आयुष राना मगर यसअघि नै पक्राउ परिसकेका थिए । अहिलेसम्म घटनामा संलग्न ८ जना पक्राउ परिसकेका छन् । अरु ७ जना फरार नै छन् । हत्यामा संलग्नविरुद्ध जिल्ला अदालत मोरङमा कर्तव्य ज्यान मुद्दा दर्ता गरिएको छ । यसअघि पक्राउ परेका ३ जना अदालतको आदेशबाट पूर्पक्षका लागि कारागार चलान भएका छन् ।

घटनामा संलग्नमध्ये सुमन चौहान, नवीन तामाङ, संजोग अधिकारी, सुमन श्रेष्ठ, मनिष गुरुङ, अजय श्रेष्ठ र बामस मगर फरार छन् । डीएसपी श्रेष्ठले फरार रहेकाहरुको खोजी जारी राखिएको जानकारी दिए । फुटबल खेल्ने क्रममा दुई पक्षबीच भएको विवाद छलफल गरेको मिलाइएको भए पनि रिसईबी साँधेर बसेको समूहले अभिषेकको हत्या गरेको प्रहरीको भनाइ छ ।

तपाईको प्रतिक्रिया