मोरङको बूढीगंगामा भएको कार दुर्घटनामा महिलाको मृत्यु

विराटनगर / मोरङको बूढीगंगामा भएको कार दुर्घटनामा परेर बिहीबार बिहान एक महिलाको मृत्यु भएको छ । मोरङको बेलबारीबाट विराटनगरतर्फ आउँदै गरेको चार जना सवार रहेको बा ११ च १५७१ नम्बरको कार कोसी राजमार्गअन्तर्गत बूढीगंगा गाउँपालिका–३ मा दुर्घटनामा परेको थियो । आफै अनियन्त्रित बनेको कार पायनीयर उद्योगअगाडिको बिजुलीको पोलमा ठोक्किएर बिहान ११:३० बजेतिर दुर्घटनामा परेको प्रहरीले जनाएको छ ।

मोरङ प्रहरीका प्रवक्ता डीएसपी दीपक श्रेष्ठका अनुसार दुर्घटनामा परेर बेलबारी नगरपालिका–१ की ३० वर्षीया चन्द्रकला राईको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएकी उनको उपचारका क्रममा मोरङको बूढीगंगास्थित विराट शिक्षण अस्पतालमा मृत्यु भएको श्रेष्ठले बताए । दुर्घटनामा कार चालक बेलबारी–१ का ३८ वर्षीय बाबुराम कार्की, बेलबारी–१ की ४३ वर्षीया गीता लिम्बू र ५५ वर्षीया सानी धिमाल घाइते सामान्य भएका छन् । घाइते सबैको विराटमै उपचार भइरहेको छ ।

प्रहरीका अनुसार मृतक चन्द्रकला र घाइते सानी मुटु सम्बन्धी पुरानै समस्या रहेकी छिमेकी गीता लिम्बूलाई लिएर उपचारका लागि विराटनगरतर्फ आउँदै गरेको खुलेको छ । दुर्घटनामा परेको कारमा पूर्ण रूपमा क्षति पुगेको र घटनाको अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया