मुगु कारागारको भवन प्रयोगविहीन, थुनुवा जिल्लाबाहिर पठाउनुपर्ने बाध्यता

मुगु / मुगुमा कारागारको भवन हुँदा पनि यहाँका थुनुवा कैदीलाई छिमेकी जिल्ला जुम्ला स्थान्तरण गर्ने गरिएको छ । भवन निर्माण कार्य सम्पन्न भइसक्दा पनि शहरी तथा भवन डिभिजन कार्यालय जुम्लाले कारागार कार्यालय मुगुलाई हालसम्म हस्तान्तरण नगर्दा यहाँका कैदीहरूलाई जुम्ला स्थान्तरण गरिएको हो । अहिले सो भवन प्रयोगविहीन छ ।

कारागार कार्यालय मुगुकाअनुसार कार्यालय सञ्चालन भवन, महिला बन्दीगृह, ब्यारेक भवनलगायत भवन निर्माण गर्ने सम्झौता १ मंसिर २०७० मा भई ३० मंसिर २०७२ निर्माण कार्य सम्पन्न गर्ने सम्झौताअनुसार काम सम्पन्न भई शहरी डिभिजन भवन कार्यालयलाई बुझाई सकिएको छ । तर शहरी डिभिजनले जिल्ला कारागारलाई हस्तान्तरण नगर्दा, कार्यालय प्रयोजन नहुँदा जिल्लामा विभिन्न प्रकृतिका घटनामा संलग्न रहेका व्यक्तिलाई पुर्पक्ष तथा जेल चलानको लागि जुम्ला, बर्दिया, दैलेख र अन्य जिल्लाका कारागारमा चलान गरिँदै आएको छ ।

आशिष कन्ट्रन्सन गाँडेखोला डडेल्धुरा ३ कम्पनीले सो भवन निर्माणको लागि ३ करोड ५० लाख ३६ हजार ६२८ रकमको ठेक्का लिई सम्झौताअनुसार काम गरि शहरी भवन डिभिजनलाई हस्तान्तरण गरिसकिएको कम्पनीका मुगुस्थित प्रतिनिधि कर्णबहादुर रावलले बताए ।

भवन निर्माण कार्य सम्पन्न भइसक्दा पनि हालसम्म हस्तान्तरण नहुँदा कार्यालय एक ठाउँबाट अर्को ठाउँसम्म सार्न नसकिएको कारागार कार्यालय प्रमुख दत्त लामाले बताए । लामाकाअनुसार भवन निर्माण भइसकेको र यहाँका कैदी बन्दीहरुलाई राख्न भवन डिभिजन कार्यालय जुम्लालाई बारम्बार ताकेता गर्दा पनि कुनै प्रकारको सुनुवाई नभएको उनले गुनासो गरे ।

कैदी स्थान्तरण गर्दा राज्यमाथि भार

कारागार कार्यालयले दिएको जानकारीअनुसार यहाँबाट जुम्लासम्म कैदीलाई स्थान्तरण गर्दा एक व्यक्तिलाई ८५ हजारदेखि १ लाखसम्म रकम खर्च हुन्छ ।

मुगुबाट कैदीलाई जुम्लासम्म लिँदा खाना, बस्न, नास्तापानी, सुरक्षाकर्मीहरु लगायत अन्यको आवश्यकता पर्ने हुनाले सो रकम खर्च लाग्ने कारगार कार्यालय प्रमुख लामाको भनाइ छ । उनले भने, ‘निर्माण सम्पन्न भएको भवनलाई कारागार कार्यालय मुगुलाई हस्तान्तरण गरिदिएको भए राज्यको यति ठूलो रकम खर्च हुँदैनथ्यो । भवन हस्तान्तरण गरि घेरवारको व्यवस्था गरिदिएको भए राज्यको कोष बच्ने थियो ।’

पछिल्लो ८ वर्षमा ९९ कैदी

आर्थिक वर्ष २०७० देखि हालसम्म कारागार मुगुको तथ्यांकअनुसार विभिन्न प्रकृतिका ९९ जना कैदीबन्दीलाई जुम्लालगायत अन्य जिल्लाका कारागारहरुमा चलानी स्थान्तरण गरिएको छ । जसमा ७ जना महिला र ९२ जना पुरुष छन् ।

प्रमुख जिल्ला अधिकारी चन्द्रबहादुर शिवाकोटीले भवन व्यवस्थापनको लागि सरोकार निकायमा पत्राचार गरिएको र हाल निर्माण भएका भवनहरु प्रारम्भिक आइसोलेसन कोभिड १९ रोकथाम तथा नियन्त्रणको लागि प्रयोजनमा ल्याइएको बताए ।

तपाईको प्रतिक्रिया