दमकमा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा दुई जनाको मृत्यु

झापा / ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा दमकमा दुई जनाको मृत्यु भएको छ । झापा दमक-९ स्थित शान्ति मार्ग नजिकै गए राति साढे १० बजे पूर्वबाट पश्चिम तर्फ आउँदै गरेको ना ४ ख ८७३० नम्बरको ट्रकले विपरीत दिशाबाट आइरहेको प्र २–०३–०१३ प ४७८७ नम्बरको मोटरसाइकललाई ठक्कर दिदा मोटरसाइकल चालक झापाको कनकाई नगरपालिका-३ का ४३ वर्षीय पूर्ण बहादुर विष्ट र मोटरसाइकलको पछाडि सवार सोही स्थानकी ३६ वर्षीय भिमा विष्ट गम्भीर घाइते भएका थिए । उनीहरूलाई उपचारका लागि दमकस्थित लाइफलाइन अस्पताल पुर्‍याए लगत्तै चिकित्सकले मृत घोषित गरेको थियो ।

ठक्कर दिएर भागेको ट्रक र चालकलाई राति नै दमक प्रहरीले आफ्नो नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय दमकले जानकारी दिएको छ । घटनाका विषयमा थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।

तपाईको प्रतिक्रिया