धरान / धरानमा दिनप्रतिदिन कोरोना संक्रमित विरामी थपिदै गएपछि संक्रमण जोखिमलाई न्यूनिकरण गर्ने उद्देश्यले धरान उपमहानगरपालिकाले लकडाउनलाई पुन : एक हप्ता लम्बाएको छ । उपमहानगरपालिकाको मंगलबार बसेको कार्यपालिकाको वैठकले ३ गते बुधबारसम्म रहेको लकडाउन समुदायमै कोरोना भाइरसको जोखिम बढ्दै गएपछि थप एक हप्ता अर्थात भदौ १० गतेसम्म गर्ने निर्णय गरेको हो ।
जिल्ला प्रशासन कार्यालय सुनसरीले समेत भदौ ७ गतेसम्म गरेको निषेधाज्ञालाई मध्यनजर गरी र धरानमा समेत प्रत्येक दिन कोरोना संक्रमण थपिदै गएको अवस्थामा जोखिम न्यूनिकरण गर्न लकडाउन लम्बाइएको धरान उपमहानगरपालिका वडा नं. १३ का वडाध्यक्ष नेत्रप्रसाद काफ्लेले बताएका छन् ।
विगतमा धरान बाहिरबाट दूध र तरकारी आयातमा समेत रोक लगाएको पनि यसपटक भने सर्वसाधारणको अप्ठेरोलाई मध्यनजर गरी बिहान ८ बजेसम्म तरकारी, दुध र खाद्यान्न बिक्री गर्न दिने पनि निर्णय गरेको उनले बताए ।
उनले नगरपालिकामा दर्ता भएका व्यापारीहरुले कृषि बजारबाट तरकारी खरीद गरेर वडा तथा टोलमा बिक्री गर्न पाउने निर्णय भएको तथा तरकारी घर घरमा होम डेलीभरि गर्न पाउने भएपनि संक्रमण जोखिमलाई कम गर्न धरान उपमहानगरपालिका वडा नं. ३ मा रहेको पालिका तरिकारी बजार र धरान २ नरेन्द्रपथमा रहेको सब्जी बजार भने खोल्न नदिने निर्णय भएको जनाएका छन् ।