मोरङको बूढीगंगामा बस दुर्घटना : एकको मृत्यु, चार घाइते

मोरङ / कोशी राजमार्ग अन्तर्गत मोरङको बूढीगंगा गाउँपालिका–१ मा बिहीबारराति यात्रु बहाक बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । चार जना घाइते भएका छन् । घाइते मध्ये दुई जनाको अवस्था गम्भीर छ । विराटनगरबाट इटहरीतर्फ जाँदै गरेको को १ ख ६९५२ नम्बरको सिमोन यातायातको बस ८ः३० बजेतिर आरती स्ट्रिप्स फ्याक्ट्री अगाडि दुर्घटनामा परेको मोरङ ट्राफिक प्रमुख प्रहरी निरीक्षक राकेशकुमार पोदारले बताए । उनकाअनुसार घटनास्थलको प्रकृति हेर्दा लेन छुट्याउन सडकको बीचमा राखिएको डिभाइडरमा ठोक्किएर बस दुर्घटनामा परे जस्तो देखिन्छ ।

दुर्घटनामा परेर पाँच जना घाइते भएका मध्ये अन्दाजी ३० वर्षीय पुरुषको मृत्यु भएको छ । उनको पहिचान खुलेको छैन । उनको साथबाट परिचय खुल्ने कुनै पनि कागजपत्र फेला नपरेको प्रहरीले जनाएको छ । दुर्घटनास्थलमा घाइते अवस्थामा भेटिएका उनलाई उपचारका लागि टंकीसिनवारीस्थित विराट टिचिङ अस्पताल पु¥याउन साथ चिकित्सकले मृत घोषित गरेको प्रनि पोदारले बताए ।

परिचय नखुलेकी अन्दाजी ४५÷५० वर्षीया महिलाको पनि विराटमै उपचार भइरहेको छ । उनको अवस्था चिन्ताजनक रहेको प्रहरीले जनाएको छ । दुर्घटनामा परेर घाइते भएका अन्य तीन जनाको भने परिचय खुलेको छ । घाइते भएका २५ वर्षीय रामकुमार राई, २८ वर्षीय कल्पना राई र ३५ वर्षीय रामकुमार राईको विराटनगरको नोबेल शिक्षण अस्पतालमा उपचार भइरहेको छ । तीनै जना भोजपुरको रामप्रसाद राई गाउँपालिकाका बासिन्दा रहेको खुलेको छ । घाइते मध्ये रामकुमारको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । बसका चालक सम्पर्कमा छैनन् । दुर्घटनामा परेका मध्ये एक जना बसका चालक हुन सक्ने प्रहरीले बताए पनि यकिन भइसकेको छैन ।

तपाईको प्रतिक्रिया