सिन्धुली / सिन्धुलीमा ५५ किलो गाँजासहित छ जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय सिन्धुलीले यही माघ १८ गते गाँजासहित छ जनालाई पक्राउ गरेको हो । आज जिल्ला प्रहरी कार्यालयमा पत्रकार सम्मेलन गर्दै पक्राउ गरिएका व्यक्ति र गाँजाको परिमाणका बारेमा सार्वजनिक गरेको हो । पक्राउ पर्नेमा सिन्धुलीको हरिहरपुरगढी गाउँपालिका–७ घर भएका १८ वर्षीय सन्तोष स्याङ्तान, १८ वर्षीय आकाश बल, २४ वर्षीय अङ्कित मुक्तान, २४ वर्षीय सरोज स्याङ्तान, सिन्धुलीकै मरिण गाउँपालिका–२ निवासी ३५ वर्षीय तिलकध्वज मुक्तान र सर्लाही जिल्ला वाग्मती नगरपालिका–४ निवासी २४ वर्षीय श्रवणकुमार वाइवा रहेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी नायब उपरीक्षक श्यामबहादुर खत्रीले जानकारी दिनुभयो ।
सिन्धुलीमा नै गाँजा उत्पादन गरी अन्यन्त्र बिक्रीका लागि लैजाँदै गरेको भन्ने विशेष सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी नायब उपरीक्षक श्यामबहादुर खत्री र प्रहरी चौकी क्यानेश्वरका प्रहरी सहायक निरीक्षक भुवनेश्वर पाण्डेको संयुक्त टोलीले हरिहरपुरगढी गाउँपालिका–७ केमचुली कच्ची सडकस्थित क्यान भुताहा जाने सडकखण्डबाट उनीहरुलाई पक्राउ गरेको बताइएको छ । उनीहरुका साथबाट ना५८प ८५१, ना४६प २३१० र ज७प २४१६ नंको तीन थान मोटरसाइकल, ५५ किलोग्राम गाँजा, उनीहरुले प्रयोग गरेको मोबाइल, केही पैसा बरामद भएको उहाँले जानकारी दिनुभयो ।
सन्तोष स्याङ्तान र आकाश बलका साथबाट मोटरसाइकलको सिटमाथि लुकाइराखेको मेशिनले पेली तयारी अवस्थामा राखिएको तीन थान लागुऔषध गाँजा (१५ किलोग्राम), अङ्कित मुक्तान र सरोज स्याङ्तानका साथबाट चार (२० किलोग्राम) तयारी गाँजा र श्रवणकुमार वाइवा र तिलकध्वज मुक्तानका साथबाट चार थान (२० किलोग्राम) गाँजा बरामद गरिएको प्रनाउ खत्रीले जानकारी दिनुभयो ।
उनीहरुले प्रहरीसमक्ष आफूहरु सीमा कटाउने र प्रतिकिलोग्राम रु १० हजारमा किनबेच हुने गरेको बयान दिएका थिए । प्रतिकिलो ढुवानीबापत रु दुई हजार ५०० सम्म लिँदै आएको र आफूहरुलाई अरूले नै पठाउन लगाएको बताएको र आवश्यक अनुसन्धान भइरहेको उहाँले जानकारी दिनुभयो । पक्राउ परेका छ जना प्रतिवादीलाई जिल्ला अदालत सिन्धुलीबाट सात दिनको म्याद थप गरी अनुसन्धान गरिहेको जानकारी दिनुभयो ।