लागुऔषध र हातहतियार मुद्दाका फरार पक्राउ

विराटनगर / अदालतबाट लागुऔषध र हातहतियार खरखजना मुद्दामा दोषी ठहर भए पनि फरार रहेका दुई जनालाई मोरङको इलाका प्रहरी कार्यालय पथरीले पक्राउ गरेको छ । लागुऔषध मुद्दामा फरार रहेका कानेपोखरी गाउँपालिका–२ का ४६ वर्षीय तिलबहादुर राई र हातहतियार खरखजना मुद्दामा फरार रहेका पथरीशनिश्चरे नगरपालिका–१ का २७ वर्षीय अमित लिम्बू सुब्बा पक्राउ परेका हुन् ।

पथरीका डीएसपी दिलिप गिरीका अनुसार पक्राउ परेका दुवै जनालाई बिहीबार अदालतमा पेस गरिएको छ । जिल्ला अदालत मोरङले राईलाई २०६७ साल असोज १७ गते ५ महिना १७ दिन कैद सजाय र दुई हजार रुपैयाँ जरिवानाको फैसला सुनाएको थियो । सुब्बालाई २०७३ सालमा ८० हजार जरिवानाको फैसला सुनाइएको थियो ।

तपाईको प्रतिक्रिया