विराटनगर / गाँजा कारोबारमा अदालतले दोषी ठहर गरे पनि फरार रहेका मोरङको कानेपोखरी गाउँपालिका–५ घर भएका एक व्यक्ति लामो समयपछि पक्राउ परेका छन् ।घटनाको ८ वर्षपछि ६४ वर्षीय सिद्धिबहादुर धिमाललाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय पथरीका डीएसपी दिलिप गिरीले बताए । बिक्रीका लागि लिएर जाँदै गरेको अवस्थामा पाँच किलो गाँजासहित २०६८ साल पुस २५ गते धिमाल पक्राउ परेका थिए ।
प्रहरीले चलाएको लागुऔषध गाँजा मुद्दामा जिल्ला अदालत मोरङले तत्काल २५ हजार रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको थियो । अनुसन्धानका क्रममा एक महिना एक दिन हिरासतमा बसेपछि अदालतले मागेको धरौटी रकम बुझाएर धिमाल छुटेका थिए । अदालतले २०६९ असार १२ गते धिमाललाई डेढ वर्ष कैद र १५ हजार रुपैयाँ जरिवानाको फैसला सुनाएर मुद्दाको किनारा लगाएको थियो ।
‘सुरुमा अभियुक्तलाई अदालतले धरौटीमा छाड्न आदेश दियो,’ स्रोतले भन्यो, ‘पछि त्यही मुद्दामा कैद र जरिवानाको फैसला सुनाएको हो ।’ अदालतको फैसलापछि फरार रहेका धिमाललाई डीएसपी गिरी नेत्रृत्वकै टोलीले कानेपोखरी–५ बाट पक्राउ गरेको हो । प्रहरीले पक्राउ गरेर बुझाएपछि अदालतले धिमाललाई कैद सजाय भुक्तानका लागि कारागार चलान गरेको छ । एक महिना एक दिन अनुसन्धानका क्रममा प्रहरी हिरासतमा विताएका उनले अब एक वर्ष चार महिना २९ दिन कैद सजाय भुक्तानका क्रममा कारागारमा बस्नु पर्ने हुन्छ ।