​महिला हिंसाविरुद्ध प्रदर्शनका लागि १६ वर्षे जस्मिन इटहरीमा

इटहरी । भर्खर १६ वर्ष मात्र उमेर जस्मिन ओझा काठमाडौ बस्छिन् । त्यहाँ बसेर महिला हिंसाविरुद्धको आन्दोलन चर्काउने निकै थोरै युवा अभियन्तामध्ये उनी एक हुन् । केही समयअघि पेटिकोट लगाएर गरिएको आन्दोलनमा उनी सावित्री सुवेदीलगायत खरा अभियन्ताहरुसँगै अग्रपंक्तिमा थिइन् ।

कक्षा आठमा पढ्दै गर्दा सामाजिक संस्था खोलेर महिला हिंसाविरुद्ध अभियान चलाएकी उनी अहिले देशका विभिन्न ठाउँमा आन्दोलन गरी जनसहभागिता जुटाउने क्रममा छिन् । सोही क्रममा उनी अहिले इटहरी आइपुगेकी छिन् ।

आउँदो शनिबार इटहरी उपमहानगरपालिका अगाडी दिउँसो २ बजे गर्न लागिएको महिला हिंसाविरुद्धको प्रदर्शनका लागि उनी इटहरी आएकी हुन् । प्रदर्शनलाई व्यापक बनाउन सावित्री सुवेदीसमेत प्रदर्शनमा सहभागि हुनेछिन् ।

शनिबार दिउँसो हुने कार्यक्रमका लागि इटहरीका विभिन्न महिला संघसंस्थाहरुसँग संवाद गरिसकिएको ओझाले जानकारी दिइन् । ‘महिला हिंसाको विरोध गर्ने जो कोही महिला, बालबालिका, युवा, महिला, पुरुष यो अभियानमा जोडिन सक्नुहुन्छ,’ उनले भनिन् । निकै सानो उमेरमा उनीसहितका किशोरीहरुले चलाएको अभियानकै कारण संसदमासमेत बलात्कारीलाई मृत्युदण्डको आवाज उठेको छ ।

Purbeli TV

तपाईको प्रतिक्रिया