५ वर्षदेखि बन्दै प्रशासनको भवन

५ वर्षमा फेरिए पाँच प्रजिअ तर बनेन भवन

सिरहा / जिल्लाको शान्ति सुरक्षा र सुशासन कायम गर्ने निकाय हो, जिल्ला प्रशासन कार्यालय । तर सिरहाका जिल्ला प्रशासन कार्यालय भवन ५ वर्षदेखि निर्माण सुरु भएपनि सम्पन्न हुन सकेको छैन् ।

कोष तथा लेखा नियन्त्रण कार्यालय परिसरमा निर्माणधीन अवस्थामा रहेको जिल्ला प्रशासन कार्यालयको भवन निर्माण अन्तिम चरणमा छ । तर काम रोकिएको छ । भवन तथा सहरी विकास विभाग डिभिजन कार्यालय सप्तरीले ११ जेठ २०७१ सालमा थेगिम इभान्सु इशा सिम्लेश्वर जेभी काठमाडौंले ३० महिनाभित्र भवन निर्माण गरिसक्ने गरी सम्झौता गरेका थिए । भ्याट ५ करोड ३० लाख २१ हजार २९० रुपैयाँमा सम्झौता गरेका निर्माण कम्पनीले पटक पटक विभिन्न वहानमा काम रोक्ने गरेको छ ।
गत माघ महिनादेखि जरिवाना सहित म्याद थप गरिएपनि निर्माण कम्पनीले काम सक्न तदारुकता देखाएको छैन् ।

असार मसान्त सम्म काम सकेर हस्तान्तरण गर्न जिल्ला प्रशासन कार्यालय सिरहाले दिएको समयअवधिमा काम सक्ने सम्भावना छैन् । प्रमुख जिल्ला अधिकारी रुद्र प्रसाद पण्डितले भने,‘जरिवाना सहित म्याद थप गरिदिएको छु । म्यादभित्रै काम सक्नुपर्ने हो ।’

झ्याल ढोका, विद्युतीकरण, टायल्स जडान, रंगरोगन, चौर निर्माण सहित फिनिसिङ काम लगायतका निर्माण बाँकी छ ।
जिल्ला प्रशासन कार्यालयसँगै कोष तथा लेखा नियन्त्रण कार्यालय, राष्ट्रिय अनुसंधान विभागको कार्यालय निर्माण सुरु भएको थियो । जिल्ला प्रशासन बाहेक अन्य दुवै कार्यालय निर्माण सकिएको छ । नयाँ कार्यालय निमाण नसक्दा पूरानै भवनबाट सेवा प्रवाह हुँदै आएको प्रजिअ पण्डितले बताए ।

२०७१ सालमा भवन निर्माण सुरु हुँदा ५ जना प्रमुख जिल्ला अधिकारीको रुपमा सिरहाको जिम्मेवारी पाए । प्रमुख जिल्ला अधिकारी मोहम्मद अब्दुल कलाम खाँ २०७१ जेठ ६ गते सिरहा आईपुगे । उनकै पालामा ११ जेठ २०७१ मा भवन निर्माणको सम्झौता भयो । खाँ १ वर्ष जिल्लाको नेतृत्व सम्हालेर २०७२ जेठ ३२ मा सरुवा भएर गए । त्यसपछि डा मानबहादुर विश्वकर्मा (२०७२÷३÷९ देखि २०७२÷१०÷२२), विजय नारायण मानन्धर (२०७२÷१०÷२८ देखि २०७३÷८÷१२), श्रीकृष्ण श्रेष्ठ (२०७३÷८÷१५ देखि २०७४÷११÷२९) सम्म जिल्ला वसेर फर्किए । तर भवन निर्माण पूरा भएन । प्रमुख जिल्ला अधिकारी पण्डित २०७५ वैशाख ३ गतेदेखि यहाँ छन् । प्रजिअ पण्डित जिल्ला आएको १ वर्ष भैसक्दा पनि भवन निर्माण पूरा हुन सकेको छैन् ।
जिल्लामा सरकारी वा सार्वजनिक निर्माणहरु ढिलाई, कमसल निर्माण भएमा त्यसको निगरानी राख्ने जिल्ला प्रशासन कार्यालय आफ्नै भवन वषौदेखि बन्दै गर्दा लाचार छन् ।

भवन निर्माण ढिला भैरह्दा ठेकेदार कम्पनीले निर्माणमा गुणस्तरहीन सामग्री प्रयोग गरेको फेला परेको छ ।
विद्युत सप्लाईमा प्रयोग हुने तार, बक्स (मेटल बक्स), सौचालयका सामग्रीहरु कमसल प्रयोग भैरहेको छ । विद्युत सप्लाई गर्न जडान गरिएको बक्समा खिया लागिसकेको छ ।

निर्माणको जिम्मा लिएका थेगिम इभान्सु इशा सिम्लेश्वर जेभीका स्थानीय प्रतिनिधी सलिम राईनले थपिएको म्याद भित्रै निर्माण पूरा गर्ने दावी गरेका छन् । रकम अभावले काम रोकिएपनि अहिले विस्तारै काम सुरु गरिएको राईनले बताए । कमसल समान प्रयोग वारे सोधिएको प्रश्नमा राइनले भने,‘स्टीमेड अनुसारको समान लगाएको छु ।’

ठेकेदारले रकम अभाव भनिरहँदा जिल्ला प्रशासन कार्यालय सिरहाले १२ पटक भुक्तानी गरिसकेको छ । भ्याट सहित ५ करोड ३० लाख २१ हजार २९० रुपैयाँमध्ये ४ करोड ४ लाख ५३ हजार ७३७ रुपैयाँ भुक्तानी गरिएको जिल्ला प्रशासन कार्यालय सिरहाका लेखापाल नविन अधिकारीले बताए ।

तपाईको प्रतिक्रिया

Loading…