१३ वर्षीया बालिकाकाे बलात्कारपछि हत्या, उखुबारीमा फेला पर्‍याे शव (तस्विरहरू सहित)

भीमदत्तनदगर / कञ्चनपुरको भीमदत्त नगरपालिका–२ खोल्टीका १३ वर्षीया बालिका निर्मला पन्तको हत्या गरिएको अवस्थामा शव उखुबारीमा भेटिएको छ । भीमदत्त नगरपालिका–१८ निम्बुखेडास्थित उखुबारीमा मृतअवस्थामा बालिका भेटिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक ज्ञानबहादुर सेटीले जानकारी दिनुभयो । बिहीबार साथीको घरबाट कापीकलमसहित साइकलमा घर फर्किदै गरेकी बालिकाको शव आज बिहान भेटिएको हो । बिहीबार साँझसम्म छोरी घर नपुगेपछि परिवारजनले खोजबिनका लागि प्रहरीलाई खबर गरे पनि वास्ता नगरेको मृतकका आफन्तहरुको गुनासो छ ।

घटनास्थलमा खटिएको प्रहरी स्रोतका अनुसार बालिकाको बलात्कारपछि हत्या गरी शव उखुबारीमा फालिएको देखिन्छ । प्रहरीले घटनामा संलग्नताको आशंकामा दुई जनालाई नियन्त्रणमा लिएको जनाएको छ । अध्ययनमा लगनशील बालिका स्थानीय सरस्वती माविमा कक्षा ९ मा अध्ययनरत थिइन् । स्थानीयले उक्त क्षेत्रमा असुरक्षा बढेको भन्दै विगतमा समेत स्थानीय प्रशासनसित सुरक्षा मागेका थिए । तर सुनुवाइ नहुँदा घटना भएको स्थानीयको आरोप छ ।

घटनापछि आक्रोशित स्थानीय बासिन्दाले बालिकाको शव परीक्षणका लागि घटनास्थलबाट ल्याउन दिएका छैनन् । बालिकाको शव उखुबारीमा भेटिए पनि उनको साइकल, किताब, कापी र चप्पल भने छेउमै रहेको खोलामा फेला परेको थियो ।

सुरक्षाको माग गर्दै उनीहरुले प्रहरी चौकी स्थापनाको ग्यारेन्टी भएमात्रै शव लैजान दिने अडान लिएका छन् । प्रहरीलाई शव ल्याउन नदिएपछि घटनास्थलबाट प्रहरी टोली फर्किएको छ । सदरमुकाम महेन्द्रनगरबाट केही मिनेटको दूरीमा रहेको घटनास्थल क्षेत्रमा स्थानीयको भीड लागेको छ ।

कञ्चनपुरमा एकपछि अर्को हत्याका घटना बढिरहेको भए पनि प्रहरी सुरक्षा व्यवस्था प्रभावकारी बनाउन सकिरहेको छैन । केही दिनअघि पनि कृष्णपुर नगरपालिकामा एक युवतीको हत्या गरी शव जंगलमा फालिएको अवस्थामा भेटिएको थियो ।

Purbeli TV

तपाईको प्रतिक्रिया