हिरासतमा ‘अवोध’ बालक भन्छन्, ‘मामु यहाँ नबसौं’

विराटनगर / पोसाक लगाएका प्रहरी देख्नसाथ डराउँछन् । प्रहरीले राम्रो व्यवहार देखाउँदै माया गरे पनि उनी रत्तिन सकेका छैनन् । लोभालाग्दो तोतो बोलीका कारण प्रहरी उनलाई नजिक बनाउन खोज्छन् । चकलेट र विस्कुट किनेर खान दिन्छन् । तर उनको मन जित्न कसैले सकेको छैन । एउटा खुल्ला आकाशमा उड्ने चरी पिञ्जडाभित्र थुनिए जसरी उनले हिरासतमा बस्नु परिरहेको छ । जतिबेलै न्यास्रो अनुहार लगाएर बसिरहेका हुन्छन् । घर जाउँ भन्दै बेलाबेला डाँको छाडेर रुन्छन् । सँगै रहेकी आमाले जतिसुकै फकाउँदा पनि मान्दैनन् ।

उनलाई फकाउन नसक्दा घरिघरि आमा प्रहरीले बन्दुकले हान्छन् भनेर डर देखाउँछिन् । जसले उनलाई पोसाक लगाएको र बन्दुक भिरेको प्रहरी देखेपछि डराउन बाध्य पारेको छ । जसका कारण बाल मनोविज्ञानमा असर परेको प्रहरी अधिकारी बताउँछन् । कोही नयाँ मान्छे देख्नसाथ एकोहोरो हेरिरहन्छन् ।

चारैतिर कुद्दै र खेल्दै हिँड्ने बालापनमा २१ दिनदेखि आफ्नै आमासँग उनी प्रहरी हिरासतमा बस्न बाध्य छन् । आमालाई किन हामी यहाँ बसेको भनेर बारम्बार सोध्ने गर्छन् । भन्छन्, ‘मामु यहाँ नबसौं । घर जाउँ न ।’ बालकले यहाँ (हिरासत) नबसौं भनेर एकोहोरो ढिपी गरिरहँदा आमाको पनि मन कुँडिन्छ । छोराले पोखेको दुःख र पीडाले आमा पनि बेला–बेला भक्कानिन्छिन् ।
तर आमासँग उनलाई लिएर हिरासतमा बस्नुको कुनै विकल्प छैन । ती अवोध बालक हुन् आदित्यकुमार यादव । अहिले उनी २० महिनाका मात्रै भए । बाबु–आमाले गरेको बद्मासीको सजाय आमासँगै हिरासतमा बसेर अहिले ती अवोध बालकले भोग्नु परिरहेको छ ।
बाबु सञ्जयकुमार यादवले ताप्लेजुङ थुम्बेदिनकी २३ वर्षीया अनिषा खवाससँग बहुविवाह गरेपछि उनी जन्मिएका हुन् । विराटनगर महानगरपालिका–१४ घर भएका ४० वर्षीय सञ्जयको ताप्लेजुङकै याम्फूदिन प्रहरी चौकीमा हवल्दार पदमा कार्यरत रहँदा अनिषासँग प्रेम बस्यो ।

दुवै जनाले सल्लाह गरेर २०७४ साल पुसमा प्रेम विवाह गरे पाँचथरको फिदिममा अनिषाको आफन्तकोमा बस्न थाले । त्यहीबीचमा आदित्य जन्मिए ।

यता घरकी जेठी श्रीमती ३७ वर्षीय शरस्वतीदेवी यादवलाई भने यो कुरा थाहा थिएन । सञ्जय र शरस्वतीबीच २०६० साल वैशाख २९ गते मागी विवाह भएको थियो । जेठी श्रीमतीतर्फ १४ वर्षसम्मका तीन छोरी पनि छन् । श्रीमानले बहुविवाह गरेर कान्छीबाट सन्तान पनि भइसकेको थाहा पाउन साथ उनले इलाका प्रहरी कार्यालय रानीका जाहेरी दिइन् । लामो समयदेखि घर नआउने र श्रीमानले आफूलाई नहेर्ने गरेका कारण सोधीखोजी गर्दा बहुविवाह गरेको थाहा भएको शरस्वतीको भनाइ छ ।

प्रहरीले सञ्जय र उनकी कान्छी पत्नी अनिषालाई साउन २ गते पक्राउ गरेर हिरासतमा राख्दै दुवै जनाविरुद्ध बहुविवाह मुद्दामा म्याद थप गरेर अनुसन्धान गरिरहेको छ । संरक्षणकर्ता नभएपछि र दूध खाने अवस्थाका २० महिने नाबालक अहिले अनुसन्धानको प्रक्रियामा रहेकी आमासँग जिल्ला प्रहरी कार्यालय मोरङको हिरासतमा छन् ।

‘सुरुमा आउँदा बच्चा निक्कै चञ्चले थियो । केही नयाँ कुरा देख्दा बढो उत्सुकता पूर्वक रुपमा लिने ग¥थ्र्यो,’ एक प्रहरीले भने, ‘तर अहिले हिरासतमा बसेकाले होला, पहिलेकोभन्दा व्यवहार निक्कै फेरिएको छ । म्याद थप गर्न प्रहरी कार्यालय–अदालत गराउँदा गाडीमा रुने र चिच्याउने गरिरहन्छ ।’ उनले बालकको पछिल्लो अनौठौ व्यवहारले सबैको मन चस्किने गरेको सुनाए । यदि अदालतले बहुविवाह ठहर ग¥यो भने बालकले आमासँग जेल पनि बस्नु पर्ने अवस्था आउने प्रहरीको भनाइ छ ।

मोरङ प्रहरी प्रमुख एसपी सन्तोष खड्का बाबु र आमालाई प्रतिवादी बनाएर मुद्दामा अनुसन्धान गर्न थालेपछि बालक आमासँगै हिरासतमा आएको बताउँछन् । ‘आमाको दूध खाइरहेको यति सानो बच्चालाई बाहिर छाड्ने कुरा पनि भएन,’ उनले भने, ‘तत्काल अरु कोही संरक्षण गर्नेहरु पनि निस्किएनन् ।’ खड्काले बाबु र आमाले बद्मासी गर्दा यति सानो उमेरमा नाबलकले हिरासतमा बिताउनु परेको बताए ।

राष्ट्रिय मानव अधिकार आयोग प्रदेश १ का निर्देशक मोहनदेव जोशी बालबालिकाको सर्वोत्तम हितलाई ख्याल गर्नु बल अधिकार सम्बन्धी अन्तर्राष्ट्रिय महासन्धीले व्यवस्था गरेको बताउँछन् । ‘जीवनका लागि आमाको दूध बच्चालाई अपरिहार्य हो,’ उनले भने, ‘दूध खाने भएकाले आमा हिरासत परिसकेपछि बच्चालाई बाहिर छाड्ने कुरा हुँदैन ।’

राज्यसँग वैकल्पिक उपाय नहुँदा र बच्चाको पनि दूध चुस्न पाउने अधिकार हनन् हुने हुँदा नाबालक सन्तान भएकी आमालाई प्रतिवादी बनाउनु पर्ने कतिपय घटनामा यस्तै अवस्था आउने जोशीको भनाइ छ । बच्चाको हितलाई ध्यानमा राखेर राज्यले महिलालाई हिरासतमा रहँदा पाउनु पर्ने सुविधाहरुको व्यवस्थापन राम्रोसँग गरिदिनु पर्नेमा उनको जोड छ । ‘बाहिर छाड्दा संरक्षण हुन सक्दैन । त्यहीँमाथि दूध चुस्ने बच्चालाई आमासँगै राख्नु पर्छ,’ उनले भने, ‘यो कुरा बच्चाको जीवनसँग पनि जोडिएको विषय हो । त्यही भएर बच्चालाई सहुलित प्रदान गर्न सक्ने कुरामा सबैको ध्यान जान जरुरी छ ।’

तपाईको प्रतिक्रिया