स्वास्थ्य चौकीमा बच्चा जन्माए ६ हजार ८ सय भत्ता

मोरङ । मोरङको कानेपोखरी गाउँपालिकाले स्थानीय स्वास्थ्य चौकीको बर्थिङ सेन्टरमा बच्चा जन्माउने सुत्केरीलाई रु छ हजार ८ सय भत्ता दिने निर्णय गरेको छ ।

कानेपाखेरी–४ स्थित बयरवन स्वास्थ्य चौकीको बर्थिङ सेन्टरमा बच्चा जन्माउने सुत्केरीलाई गाउँपालिकाले रु पाँच हजार र स्वास्थचौकीले रु एक हजार ८०० उपलब्ध गराउने भएको हो । आर्थिक वर्ष ०७५र७६ को बजेटमा परेको उक्त रकम साउन महिनादेखि दिने निर्णय गरिएको गाउँपालिकाका प्रवक्ता सुशील बुढाथोकीले बताए ।

यो सुविधा जुनसुकै स्थानबाट आएका नेपाली नागरिकलाई दिइने छ । प्रसूतिगृहमा प्रसूति गराउन ल्याएर स्वास्थ्य चौकीले अर्को अस्पतालमा सिफारिस गर्नुपरेमा त्यस्ता सुत्केरीलाई एम्बुलेन्सबापत रु दुई हजार भाडा समेत दिइने स्वास्थ्य चौकी सञ्चालन समितिका अध्यक्ष तथा वडा नं ४ का वडाध्यक्ष धनबहादुर राईले जानकारी दिए ।

स्वास्थ्य चौकीले प्रदान गर्ने रु एक हजार ८ सय को हकमा भने नियमित जाँच गराएको हुनुपर्ने स्वास्थ्य चौकीका प्रमुख कामेश्वर अधिकारीले बताए । उक्त स्वास्थ्य चौकीले २४ सै घण्टा प्रसूति सेवा दिइरहेको छ । उता मोरङको पथरीशनिश्चरे नगरपालिका वडा न २ को छ्यालिस विघेमा रहेको पथरी स्वास्थ्य चौकीको नव निर्मित भवनको बिहिबार उद्घाटन गरिएको छ । उद्घाटन भएसगैँ सोही दिनबाट २४ सै घण्टा वर्थिङ सेवा सुरु गरेकोे स्वास्थ चौकीका प्रमुख मुरारी आचार्यले बताए । १ करोड १२ लाखको लागतमा १८ वटा कोठा रहेको भवनको नगर प्रमुख दिलिप कुमार राईले उद्घाटन गरेका हुन ।

सो स्वाथ्य चौकी स्थापनाका लागि स्थानीयले साढे १२ कठ्ठा जग्गा दान गरेका थिए । सो भवन निर्माण गर्न स्थानिय बाबुराम राई र सुनेहाङ्ग सवेदहाङ्गले समान ३–३ कठ्ठा जग्गा दान गरेका छन । त्यस्तै स्वास्थ्य चौकी भवन निर्माणका लागि श्री नारायण ढकाल , टंक गिरि , जदु शाहा, केशव दाहाल, होम बहादुर गुरुङ , राम कुमार गुरुङ्ग, यक्ष प्रसाद ढुङ्गेल , छविलाल अधिकारी र मान बहादुर थापा समेतले जग्गा दान गरेका छन । सो अवसरमा जग्गादाताहरुलाई ताम्रपत्र र दोसल्ला ओढाई सम्मान गरीएको थियो । त्यस्तै कार्यक्रममा स्वास्थ चौकी निर्माणमा महत्वपुर्ण भुमिका खेल्ने डा. नवराज सुब्बा, संतोष घिमिरे र मोहनराज भट्टराईलाई समेत सम्मान गरिएको छ ।

तपाईको प्रतिक्रिया