सैनिक जवान मृत्यु प्रकरण, पक्राउ परेका एक सार्वजनिक, अन्यकाे खोजी हुँदै : एसपी श्रेष्ठ

सिरहा / सिरहाको बरियारपट्टी गाउँपालिका–४ तेनुवापट्टीमा सैनिक जवानको कुटपिटपछि मृत्यु प्रकरणमा एक जना पक्राउ परेको छ । गत बैशाख २८ गते सिरहाको बरियारपट्टी गाउँपालिका–४ तेनुवापट्टीमा घर बिदामा आएका २५ वर्षिय सैनिक जवान अनिश कुमार सिंहको कुटपिटवाट उपचारको क्रममा मृत्यु भएको थियो । उक्त घटनामा संलग्न भएको भन्दै प्रहरीले सिरहा नगरपालिका १७ सिमावर्ती क्षेत्रबाट एक जनालाई पक्राउ गरी सोमवार सार्वजनिक गरेको हो ।

जिल्ला प्रहरी कार्यालय सिरहामा पत्रकार सम्मेलन गरी कुटपिट घटनामा संलग्न रहेको भन्दै प्रहरीले बरियारपट्टी–४ तेनुवापट्टीका मगंला भनिने मंगल साहलाई सार्वजनिक गरेको छ । प्रहरी प्रमुख एसपी जीवन कुमार श्रेष्ठले कुटपिट गर्नेमा संलग्नता भएकोले पक्राउ गरी अनुसंधान थालिएको बताए । सिंहलाई विजुलीको पोलमा बाँधेर कुटपिट गरिएको थियो ।

किटानी जाहेरीको आधारमा साहलाई पक्राउ गरिएको भन्दै प्रहरी उपरीक्षक श्रेष्ठले फरार रहेका अरुको खोजी कार्य भैरहेको बताए । बराह दल गुल्म सखुंवासभामा कार्यरत सिंह बैशाख ७ गते १ महिने बिदामा घर आएका थिए । बारा–पर्सा हावाहुरी प्रभावित क्षेत्रमा काम गर्न सिंहलाई गुल्मले फिर्ता बोलाएका थिए । बैशाख २९ गते फर्किने तयारीमा रहेका सिंहको २८ गते रातीको कुटपिटबाट गम्भीर घाईते भएपछि उपचारको क्रममा विरेन्द्र सैनिक अस्पताल छाउनीमा जेष्ठ २ गते मृत्यु भएको थियो ।

सैनिक जवान सिंहका परिवारले ‘अपहरण गरी कर्तव्य ज्यान’ मुद्दामा २५ जना विरुद्धमा प्रहरीमा जाहेरी दिएका छन् । सोही जाहेरीको आधारमा प्रहरीले साहलाई पक्राउ गरेको र फरार अन्यको खोजी गरिरहेको प्रहरी उपरीक्षक श्रेष्ठले बताए । छोरालाई घरबाटै अपहरण गरी हत्या गरेको भन्दै जाहेरी दिएको हो । यता तेनुवापट्टीका स्थानीयले गाउँमा सिंहसहित युवाहरुले चोरी गर्न आएको भन्दै ईलाका प्रहरी कार्यालय बरियारपट्टीमा निवदेन दिएका थिए । यता आफ्नो घरमा चोरी गर्न आएको भनिएको विलेक्षण यादवले घरमा ताल्चा लगाएर फरार छन् ।

घटनापछि बरियारपट्टी गाउँपालिका–४ तेनुवापट्टीमा त्रासको वातावरण छ । अधिकांश युवा तथा पुरुषहरु प्रहरीले पक्राउ गर्ने भन्दै गाउँ छाडेर भारततर्फ भागेका छन् । राजनीतिक र व्यक्तिगत रिसिइबीले फसाउन सक्ने भन्दै युवा र पुरुषहरु गाउँ छाडेर भारततर्फ भागेको हो । अहिले गाउँमा महिला, वृद्ध र बालबालिकाहरु देखिन्छ्न् । त्रासकै कारण गाउँमा रहेको आधारभुत विद्यालय पनि बन्द छन् ।

तपाईको प्रतिक्रिया

Loading…