सिद्धिचरण राजमार्गमा १ सय ६० सवारी साधन विच बाटो मै अलपत्र


उदयपुर / एक साता अधि पानीसँगै गएको पहिरोले सिद्धिचरण राजमार्गको माथिल्लो खण्ड पूर्णरुपले अवरुद्ध भएको छ । सिद्धिचरण राजमार्गमा करिव दुई दर्जन बढी ठाउँमा पहिरो गएपछि १ सय ६० सबारी साधन विच बाटोमै अलपत्र परेको छ भने दुई वटा सवारी साधनलाई बादुरा खोलाले बगाएको छ । राजमार्गको मिर्चैया–कटारी, कटारी–बेतीनी खण्ड आंशिक रूपमा सुचारु पनि बेतेनी–घुर्मी खण्ड अवरुद्ध भएको हो ।

बेतनी देखि घुर्मी सम्म २५ किलो मिटर सडक खण्डमा करिव दुई दर्जन ठाउँमा पहिरो गएकोले सवारी साधन विच बाटैमा अलपत्र परेको हो । सगरमाथा क्षेत्रको प्रवेशद्वारको रुपमा रहेको सिद्धिचरण राजमार्ग पहिरोले सडक अवरुद्ध भएपछि ओखलढुङ्गा, खोटाङ र सोलुखुम्बु जाने र काठमाडौं लगायत तराईका जिल्ला आउने जाने यात्रु अलपत्र परेका छन् ।

उदयपुर र सिन्धुलीको सिमानामा पर्ने बादुरा खोलाको दुवै तर्फ पहिरो जाँदा खोलाको किनारमा ९ वटा सवारी साधन फसेको थियो । फसेको सवारी साधन मध्ये ना.१ ज ३६३२ नम्बरको सुमो र मे १ ख २२२६ नम्बरको ट्रकलाई बाढीले बगाएको छ ।

यस्तै घुर्मीदेखि लेखानीसम्म १५ किलो मिटरको दुरीमा ३४ वटा यात्रु बहाक सवारी साधन तथा माल बहाक ट्रकहरु अलपत्र परेको छ । १५ किलो मिटरको दुरीमा दुई दर्जनभन्दा बढी ठाउँमा पहिरो गएको कारण ठाउँ ठाउँमा सवारी साधन अलपत्र परेको घुर्मी ट्राफिक प्रहरी इन्चार्ज कटक खड्काले फोनमार्फत जानकारी गराए । उनले भने, “अलपत्र रहेको ३४ सवारी साधन संकटग्रस्त अवस्थामा रहेको छ, कुन बेला कुन तर्फको पहाड पहिरो खस्ने र कुन गाडी बगाउने भन्ने चिन्ता छ ।”

माथिल्लो सगरमाथा सोलुखुम्बु, ओखलढुंगा, खोटाङबाट काठमाडौं र तराईका लागि छुटेका १ सय १७ सवारी घुर्मीमै रोकिएको छ । बेतेनी–घुर्मी खण्ड २५ किलोमिटर अन्तर्गत कटारी नगरपालिका– ११ ठाँटीभन्ज्याङ र लप्सेको भीरसहित दुई दर्जनभन्दा बढी स्थानमा पहिरो गएकाले सडक ठप्प भएको छ । ठाँटीभन्ज्याङमा करिव २ सय मिटर सडक नै बगेको छ । पहिरोले रोड नै बगाएर लगेपछि नयाँ ट्रयाक बनाउनु पर्ने भएको छ । लप्सेमा माथिबाट पहिरो खसेर अवरुद्ध भएको उदयपुर उद्योग वाणिज्य संघ कटारीका अध्यक्ष पुष्कर खड्काले बताए । ‘बेतेनी–घुर्मी २५ किमि क्षेत्रमा मोटरसाइकलसमेत सञ्चालन हुन सक्ने अवस्था छैन,’ उनले भने, ‘सडक अवरुद्ध हुँदा सर्वसाधारणलाई हिंड्न पनि समस्या भएको छ ।’

मिर्चैया–कटारी, कटारी–बेतेनी खडकमा सडक सञ्चालन गरिएको इलाका प्रहरी कटारीका प्रहरी नायब उपरीक्षक सागर केसीले बताए । ‘अवरुद्ध मिर्चैया–घुर्मी सिद्धिचरणको बेतेनीसम्म मात्रै खोलिएको छ,’ उनले भने, ‘बेतेनी–घुर्मी खोल्न नसक्ने अवस्थामा रहेकाले प्रयासका लागि गएको डोजरसहितको प्रहरी, सडकका कर्मचारी र सर्वसाधारण फर्किएका छन् ।’

तराईका जिल्ला जोड्ने सिद्धिचरण र मध्यपहाडी राजमार्गमा पहिरो खसेपछि खाद्यन्न र पेट्रोलियम पदार्थको ढुवानी समेत चरम अभाव भएको छ । यात्रुबाहक र मालबाहक गाडी नचलेपछि उपभोग्य वस्तु ढुवानीसँगै यात्रुलाई आवत जावत गर्न समस्या भएको छ । सडक अवरुद्ध भएको बहानामा व्यापारीहरुले उपभोग्य वस्तुमा भाउ बढाएका छन् ।

पेट्रोल पम्पमा पेट्रोल र डिजेल अभाव भएपछि ओखलढुंगा, खोटाङ र सोलुखुम्बुका आन्तरिक सडकमा संचालन हुने यातायात समेत सुचारु हुन सकेका छैनन् ।

तपाईको प्रतिक्रिया

Loading…