सिंघीया खोलामा विराटनगरका लेखा परिक्षक घिमिरेकाे शव फेला

विराटनगर / विराटनगरमा लामो समयदेखी लेखा परिक्षकको काम गर्दै आएका एक व्यक्ति खोलामा डुवेको अवस्थामा फेला परेका छन् । विराटनगर महानगरपालिका–२ का ५० वर्षीय प्रवल घिमिरेको शव मंगलबार बिहान सिंघीया खोलामा डुबेको अवस्थामा फेला परेको हो ।

सोमबार बेलुका घरबाट निस्किएका उनी नफर्किएपछि आफन्तले प्रहरीलाई खवर गरेर खोजी थालेका थिए । स्थानीय बासिन्दाले पुरुषको शव देखेपछि प्रहरीलाई खवर गरेको मोरङ प्रहरीका प्रवक्ता डीएसपी लोकदर्शन थापाले बताए । खोलाको पानी भित्र डुबेको अवस्थामा शव भेटिएको उनको भनाइ छ ।

कपडा र जुत्ता लगाएको अवस्थामा मृत भेटिएका घिमिरेको साथमा पैसा राख्ने पर्स र मोटरसाइकलको चाबी पनि फेला परेको छ । शव पोस्टमार्टमका लागि कोशी अस्पताल लगेर घटनाका बारेमा अनुसन्धान सुरु गरिएको मोरङ प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया

Loading…