सरकारी मोटरसाइकलमा लागुऔषध ल्याउँदै गर्दा वन अधिकृतका छोरा पक्राउ , गोप्य राख्न खोजेको घटना यसरी भयाे सार्वजनिक

विराटनगर / सरकारी मोटरसाइकलमा भारतको जोगवनीदेखि लागुऔषध लिएर आउँदै गर्दा विराटनगरबाट वन अधिकृतका छोरा पक्राउ परेका छन् । विराटनगर महानगरपालिका–१५ स्थित भन्सार कार्यालयको एक नम्बर ढाटबाट सप्तरी राजविराज नगरपालिका– २ राजदेव टोल घर भएका २६ वर्षीय कपिल यादव पक्राउ परेका छन् । उनका बुवा सत्यनारायण यादव डिभिजन वन कार्यालय उदयपुरका अधिकृत हुन् । बुवा सत्यनारायणले चलाउने गरेको वन कार्यालयको स १ ब १४१० नम्बरको सरकारी मोटरसाइकलमा लागुऔषध लिएर आउँदै गर्दा कपिललाई पक्राउ गरिएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी राजकुमार खिँउजुले बताए ।

गत आइतबार सरकारी नम्बर प्लेटको मोटरसाइकलमा वन अधिकृतका छोरा लागुऔषधसहित पक्राउ परे पनि प्रहरीले भने यस घटनालाई गोप्य राख्न खोजेको थियो । घटना सार्वजनिक भएपछि प्रहरीले भने यही मोटरसाइकलको प्रयोग गरेर भारतबाट बारम्बार लागुऔषध नेपाल ल्याउने काम भएको दाबी गरेको छ । डीएसपी खिँउजुले कानुनद्धारा बर्जित लागुऔषध सरकारी मोटरसाइकलमा नेपालतर्फ ‘सप्लाई’ भइरहेको भन्ने विशेष सूचनाका आधारमा लागुऔषध नियन्त्रण व्युरो विराटनगरको टोलीले कपिललाई पक्राउ गरेको बताए ।

कपिलले कम्मरमा बाँधेर ल्याएको अवस्थामा प्रहरीले डाइजेल्याब ८, एभिल ८ र लुपिजेसिक ८ गरेर २४ एम्पुल लागुऔषध बरामद गरेको छ । उनी विरुद्ध लागुऔषध नियन्त्रण ऐन अन्तर्गत मुद्दा चलाउन म्याद थप गरेर अनुसन्धान अघि बढाइएको जानकारी खिँउजुले दिए । कपिल लागुऔषधका प्रयोगकर्ता र कारोबारी दुवै हुन सक्ने प्रहरी अनुमान छ । उनले लागुऔषध ओसार्नकै लागि आफ्ना बुवाले प्रयोग गर्ने गरेको वन कार्यालयको मोटरसाइकल उदयपुरदेखि विराटनगर लिएर आएको खुलेको छ ।

प्रहरीले पनि वास्ता नगर्ने र कोही कसैले सहजै शंका नगर्ने भएका कारण भारतबाट हुने लागुऔषध तस्करीमा सरकारी मोटरसाइकल प्रयोग गरिएको खुलेको डीएसपी खिँउजुले बताए ।
(फोटो क्याप्सन ः सरकारी नम्बर प्लेटको मोटरसाइकलमा लागुऔषध लिएर आउँदै गर्दा पक्राउ परेका कपिल यादव र लागुऔषध ओसार्न प्रयोग गरिएको डिभिजन वन कार्यालय उदयपुरको मोटरसाइकल । )

Loading…

तपाईको प्रतिक्रिया

Loading…

Loading…