समाजलाई आदर्शकाे पाठ पढाउदै विजयपुरबासी

धरान ।सहकार्य र सहयोगी भूमिकासहित समाजलाई आदर्श समाज बनाउन विजयपुरबासी जुटेका छन् ।धरान उपमहानगरपालिका वडा नं. १४ विजयपुरको धार्मिक पर्यटकीय गन्तव्य स्थलको प्रचारसंगै विजयपुरलाई आदर्श समाज गठन गर्न ४ महिना अगाडि गठित आदर्श समाज विजयपुर नामक संस्थाले यही उद्देश्यका साथ पहिलो साधारणसभा समेत सम्पन्न गरिसकेको छ ।

आदर्श समाज बन्नका लाग बालबालिकाहरुको समेत भूमिका महत्वपूर्ण हुने भएकोले आदर्श समाज विजयपुरले आयोजना गरेको कार्यक्रममा बालबालिकालाई अगाडि सार्दै राष्ट्रिय गीत प्रस्तुत गरे ।

सहयोगी भावनाको विकाससंगै समाजमा सकारात्मक कुरालाई प्रवाह गर्दै विजयपुरमा भएका धार्मिक ऐतिहासिक महत्वका कुराहरुको प्रचार प्रसारमा जुट्ने आदर्श समाज विजयपुरका तदर्थ समितिका संयोजक सागरमणि सुवेदी बताउनुहुन्छ । उहाले भविष्यमा विजयपुरमा रहेका धार्मिक ऐतिहासिक क्षेत्रलाई समेटर आधारसहित पर्यटकीय गन्तव्य स्थलहरुको परिचय पुस्तिका प्रकाशन गर्ने लक्ष्य समाजले लिएको बताउनुभयो ।

पहिलो चरण अन्तर्गत समाजले विजयपुरका चौक चौकमा सांकेतिक होर्डिङ्ग बोर्डहरु राखेका छन् । आन्तरिक तथा वाह्य पर्यटकहरुलाई त्यहा रहेका मठमन्दिर तथा स्थानहरुको जानकारी सहज रुपमा होस् भन्नकै लागि यसरी सांकेतिक होर्डिङ्ग बोर्ड राखिदिएका हुन् ।

आदर्श समाजको कार्यबाट विजयपुरका अग्रजहरु समेत आशावादी छन् । पूर्व प्रमुख जिल्ला अधिकारी तथा विजयपुरका अग्रज समाजसेवी कृष्णप्रसाद कोइरालाले आदर्श समाजले लिएको लक्ष्य अनुरुप काम गर्ने विश्वास व्यक्त गर्नुभयो ।

त्यसो त धरान उपमहानगरपालिका वडा नं. १४ विजयपुरले समेत साथ दिने प्रतिबद्धता जनाएको छ । वडा अध्यक्ष कृष्णप्रसाद भट्टराईले आदर्श समाजको उद्देश्यसहित गठित यो समाजले समाजमा राम्रो काम गर्ने बताउदै भविष्यमा समाजलाई सहयोग गर्ने प्रतिबद्धता व्यक्त समेत गर्नुभयो ।

आगामी दिनमा यस संस्थाल राम्रा काम गर्ला नगर्ला त्यो भविष्यले नै बताउने छ तर संस्था गठन गर्दा नै सकारात्मक सोच लिएर गठन गरिएकोले भविष्यमा आदर्श समाज साच्चै नेै आदर्श समाज बन्नेमा विजयपुरका सर्वसाधारण भने विश्वस्त देखिन्छन् ।

तपाईको प्रतिक्रिया