सप्तरीमा कोरोना सङ्क्रमितको घरमै निधन

सप्तरी / सप्तरीमा कोरोना सङ्क्रमित विष्णुपुर गाउँपालिका–१ का ४९ वर्षीय पुरुषको घरमै मृत्यु भएको छ । स्वास्थ्य कार्यालय सप्तरीले उनको मृत्यु फरकफरक अस्पतालमा भएको जनाए पनि मृतकका परिवारका सदस्यले घरमै मृत्यु भएको स्पष्ट पारेको छ ।

स्वास्थ्य कार्यालय सप्तरीका निमित्त प्रमुख दुनियालाल यादवले बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा मत्यु भएको बताए । कोभिड–१९ को सप्तरीको तथ्याङ्क राख्नु हुने सोही कार्यालयका मलेरिया इन्स्पेटर नारायण राउत बरैले गोल्डेन अस्पताल विराटनगरमा मृत्यु भएको जानकारी दिए ।

नौ दिनअघि नरिबलको रुखबाट लडेर घाइते भएका उनको गोल्डेन अस्पताल विराटनगरमा उपचारका क्रममा भदौ २९ गते पिसीआर रिपोर्ट पोजिटिभ आएको थियो । उनलाई राजविराज वा धरानस्थित आइसोलेशन केन्द्रमा बस्ने सुझावसहित अस्पतालले पठाएकामा परिवारले घरमै आइसोलेशनमा राखेको थियो । नेपाली सेनाको भीमदल गणको टोलीले गाउँमै शव व्यवस्थापन गरेको मृतकका भतिजा भूपेन्द्रप्रसाद यादवले बताए । यो समेत सप्तरीमा मृत्यु हुने कोरोना सङ्क्रमितको सङ्ख्या ११ पुगेको छ ।

तपाईको प्रतिक्रिया