शीतलहरबाट बचाउन प्रहरीले बाल्याे आगो

उदयपुर / जनताको जिउधनको रक्षा गर्नु पर्ने जिम्मेवारी सम्हालेका नेपाल प्रहरी यतिबेला आगो बाल्नमै व्यस्त छन् । ईलाका प्रहरी कार्यलय कटारीले विपन्न तथा दलित बस्ती लगायत विभिन्न ठाँउमा पुगेर दाउरा पुर्याउदै आगो बालिरहेका छन् ।

दुई दिनदेखि चिसो बढेसँगै जनजीवन प्रभावित भएपछि प्रहरीले डिभिजनल वन कार्यलय त्रिवेणी कटारीको सहकार्यमा ठाउँ ठाउँमा आगो बालेर सामुहिक रुपमा आगो ताप्ने व्यवस्था मिलाएको हो । समुदाय–प्रहरी साँझेदारी कार्यक्रम अन्तर्गत कटारी नगरपालिकाका सुकुम्बासी बस्ती, बसपार्क, मुसहर र सिम्ले लगायतका स्थानमा आगो बालेर सर्वसाधारणहरुलाई आगो ताप्ने व्यबस्था मिलाएको ईलाका प्रहरी कार्यलय कटारीका प्रमुख डिसपी हेमन्त भण्डारी क्षेत्रीले बताए ।

चिसोका कारण कठ्याग्रिंएका नागरिकहरुलाई न्यानो अनुभुती गराउन ईलाका प्रहरी कार्यालय कटारीले आफु मातहत प्रहरी चौकीलाई स्थानीय चोक तथा ग्रामिण ईलाकाहरुमा आगो बालेर ताप्ने व्यबस्था मिलाउन निर्देशन दिएको डिसपी भण्डारीले जानकारी दिए ।

उनका अनुसार विभिन्न स्थानहरुमा काठका मुढा तथा दाउराहरु बालिएको छ । केहिदिन देखि बढेको चिसोका कारण यहाँको जनजीवन कष्टकर बनेको छ । बाक्लो हुस्सु लागेर शितलहर बढेसँगै आवतजावतमा समस्या भएको छ । हुस्सुका कारण दुर्घटनाको जोखिम बढेको छ भने बालबालिका, बुढाबुढी र मजदुर समस्यामा परेका छन् । चिसो बढेका कारण दमका रोगीहरु प्रभाबित भएका छन् । चिसोबाट बच्नका लागि न्यानो लुगा लगाउन र ताततातो खानेकुरा खान अनुरोध गर्नुको साथै मानिसहरुको बाक्लो उपस्थिति हुने स्थानमा मुडा बालेर आगो ताप्ने व्यवस्था गरिदिएको छ ।

तपाईको प्रतिक्रिया