विराट र नोबेलमा दुई संक्रमितको मृत्यु

विराटनगर / मोरङको बूढीगंगास्थित विराट शिक्षण अस्पताल र विराटनगरको नोबेल शिक्षण अस्पतालमा मंगलबार बिहान एक÷एक जना संक्रमितको मृत्यु भएको छ । मृत्यु भएकामध्ये धरानकी एक वृद्धा महिला र पथरीशनिश्चरेका एक पुरुष रहेका छन् । दुवै जनाको उपचारका क्रममा ज्यान गएको हो ।

धरान उपमहानगरपालिका–८ की ८५ वर्षीया वृद्धा महिलाको बिहान ५ बजेतिर विराट शिक्षण अस्पतालमा मृत्यु भएको छ । पीसीआर परीक्षण गराउँदा कोरोना पुष्टि भएपछि कात्तिक २९ गते वृद्धालाई उपचारका लागि भर्ना गरिएको अस्पतालका आइसोलेसन प्रमुख सुनिल देवले जानकारी दिए ।
भेन्टिलेटरमा उपचाररत उनको बिहान ५ बजेतिर मृत्यु भएको देवले बताए । उनका अनुसार मृतकमा ज्वरो आउने, श्वास फेर्न गाह्रो हुने लगायतका समस्या थिए ।

त्यस्तै कोरोना संक्रमित पथरीशनिश्चरे नगरपालिका–३ का ४५ वर्षीय पुरुषको बिहान ८ः३० बजेतिर नोबेलमा मृत्यु भएको छ । उनलाई उपचारका लागि मंगलबार बिहान मात्रै अस्पताल ल्याइएको अस्पतालका प्रबन्धक नारायण दाहालले बताए । पीसीआर परीक्षण गराउँदा मंसिर ५ गते कोरोना पुष्टि भएपछि होम आइसोलेसनमै रहेका पुरुषलाई एक्कासि श्वासप्रश्वासमा समस्या भएपछि थप उपचारका लागि नोबेल ल्याइएको जानकारी दाहालले दिए । तत्काल उपचार थालिए पनि बचाउन नसकिएको उनको भनाइ छ ।

तपाईको प्रतिक्रिया