विराटनगरमा थप ३ जनामा कोरोना सङ्क्रमण पुष्टि

विराटनगर / विराटनगरमा थप तीन जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । विराटनगर-५ चाँदनी चोक क्षेत्रका तीन जनामा बुधवार कोरोना सङ्क्रमण पुष्टि भएको वडाध्यक्ष मीनकुमार आचार्यले बताएका छन् ।

गुद्री बजारमा तरकारी पसल सञ्चालन गर्दै आएका दुई बाबुछोरामा सङ्क्रमण पुष्टि भएको छ । उनीहरू घरबाट पसल जाने र घर फर्किने बाहेक अन्यत्रको यात्रा नगरेकोले पसलमै कसैबाट सङ्क्रमण भएको आशंका गरिएको छ ।

यसै गरी अर्का सङ्क्रमित विराट नर्सिङ होममा कार्यरत कर्मचारीको आमा भएको बताइएको छ । उनलाई छोराबाट सङ्क्रमण भएको हुनसक्ने भन्दै थप कन्ट्रयाक्ट ट्रेसिङको काम सुरु गर्ने तयारी भइरहेको वडाध्यक्ष आचार्यले बताए ।

विराटनगर महानगरपालिका ५ मा यस अघि ९ जनामा सङ्क्रमण पुष्टि भएको थियो । बुधवार तीन जना थपिएपछि वडामा सङ्क्रमितकाे सङ्ख्या १२ जना पुगेको छ ।

तपाईको प्रतिक्रिया