विराटनगरमा कुदाइने ६२ वटा सफारी प्रहरी नियन्त्रणमा

विराटनगर / विराटनगर महानगरपालिका क्षेत्रभित्रका सडकमा सञ्चालन भइरहेका ठूलो संख्याका सिटी सफारीलाई प्रहरीले एकै पटक नियन्त्रणमा लिएको छ । नियन्त्रणमा लिइएका सबै सफारी जिल्ला प्रहरी कार्यालयनजिकै रहेको खाली जग्गामा लगेर राखिएको छ । ६२ वटा सफारी शुक्रबार दिउँसोसम्ममा नियन्त्रणमा लिइएको मोरङ प्रहरी प्रमुख एसपी सन्तोष खड्काले जानकारी दिए । उनका अनुसार चालकसँग सवारी चालक अनुमति पत्र (लाइसेन्स) नभएका, बिना दर्ताका र नम्बर प्लेट बिना नै सञ्चालन गरिँदै आएका सफारीलाई कारबाहीका लागि नियन्त्रणमा लिइएको हो ।

कानुन उल्लंघन गर्दै चलाइने सफारीका कारण राजमार्ग एवं भित्री सडक खण्डहरुमा दुर्घटना बढेको र ट्राफिक व्यवस्थापन अस्तव्यस्त बनेको जनगुनासो आएपछि कारबाही तीव्र पारिएको जानकारी खड्काले दिए । उनका अनुसार नियमविपरीत सञ्चालन बन्द गर्न पटक–पटक आग्रह गर्दा पनि अटेर गरेपछि कारबाहीको प्रक्रिया अघि बढाइएको हो । यातायात व्यवस्था कार्यालयमा दर्ता गरेर मात्रै सडकमा सफारी चलाउन पाइने नियम छ । कतिपय सिटी सफारी बिना नम्बर प्लेट सडकमा निर्वाध रुपले सञ्चालन भइरहेको र दुर्घटना गराएमा लिएर चालक तत्काल फरार हुने गरेको प्रहरीको भनाइ छ । नम्बर प्लेट नहुँदा त्यस्ता सफारीको पहिचान मुस्किल पर्ने गरेको एसपी खड्काले बताए ।

जसका कारण दुर्घटनाबाट क्षति पुगेको पक्षले उपचार तथा क्षतिपूर्ति नपाउने अवस्थाको पनि सिर्जना भइरहेको छ । खड्काका अनुसार कुनै पनि नियम पूरा नगरि व्यस्त सडकमा सफारी कुदाइँदा यात्रुको जीवन पनि जोखिममा परिरहेको छ । लाइसेन्स प्राप्त नगरेको चालक अनुभवि र ट्राफिक नियमका बारेमा जानकार पनि नहुने हुँदा दुर्घटना धेरै भइरहेको उनले बताए । उनका अनुसार गलत तरिकाले चलाइएका सफारीलाई कारबाही गर्दा यात्रुको जीवन सुरक्षा हुने र विभिन्न प्रकारका जोखिम कम हुने छ । सफारी बिक्री गर्ने डिलरले पनि मुनाफा मात्रैलाई ध्यान दिएर जथाभावि बिक्री गरिदिँदा सडकमा सफारीका कारण धेरै समस्या निम्तने गरेको प्रहरीको भनाइ छ ।

नियन्त्रणमा लिइएका सफारीलाई प्रहरीले ट्राफिक नियम उल्लंघनको कसूरमा कारबाही गरेर आगामी दिनमा कानुन अनुसार मात्रै सञ्चालन गर्न पाउने गरी छाड्ने भएको छ । ट्राफिक नियम उल्लंघनको कसूरमा एक हजार पाँच सय रुपैयाँसम्म जरिवाना गर्न सकिने व्यवस्या छ ।

एकै पटक ठूलो संख्यामा कारबाही गर्दा दर्ताका लागि पनि सफारी धनीलाई नैतिक दबाब पर्ने मोरङ ट्राफिक प्रमुख प्रहरी निरीक्षक चन्द्रबहादुर खड्काले बताए । सफारी राजमार्ग तथा सडकमा जथभावी पार्किङ गरिदिँदा ट्राफिक व्यवस्थापनमा ठूलो समस्या भइरहेको उनको भनाइ । अर्कोतिर जथाभावि र बिना रुटपरमिट कुदाउने गरिँदा दुर्घटना अत्याधिक बढेको छ । प्रनि खड्काले कारबाहीका लागि नियन्त्रणमा लिन थालिएपछि सफारीका कारण सडकमा उत्पन्न भइरहेको समस्याको समाधान हुने अपेक्षा गरिएको बताए ।

मोरङमा रहेका पाँच हजार पाँच सयमध्ये विराटनगर महानगरपालिकाभित्र मात्रै तीन हजार पाँच सयभन्दा बढी सफारी सञ्चालनमा रहेको ट्राफिक प्रहरीले जनाएको छ । ५५ सयमध्ये आधाभन्दा बढी सफारी कानुनविपरीत चलिरहेको बताइएको छ । विराटनगरमा सफारीका कारण वैशाख महिनाको हालसम्ममा १५ वटा दुर्घटना भइसकेका छन् । चैतमा २० वटा दुर्घटनामा सफारीको संलग्नता रहेको जानकारी ट्राफिक प्रमुख खड्काले दिए ।

तपाईको प्रतिक्रिया