वडाध्यक्ष नै कुटपिट र लुटपाटमा संलग्न

गौशाला । महोत्तरी जिल्लाको जलेश्वर नगरपालिका–५ का वडाध्यक्ष राकेश राउतमाथि आइतबार आफ्नै वडामा कुटपिट र लुटपाट गरेको आरोप लगाइएको छ । जिल्ला प्रहरी कार्यालय महोत्तरीका अनुसार वडाध्यक्ष राउतमाथि आफ्नै वडाका एक व्यक्तिलाई निर्घात कुटपिट गरी गम्भीर घाइते बनाएको तथा एक जनाको रु दुई लाख लुटेको आरोप लगाइएको हो । जलेश्वर–५ चौरिया गाउँमा स्थानीयवासी वासुकी चौधरी र शशिकान्त चौधरीबीच आपसी झै–झगडा र गालीगलौज हुँदा शशिकान्त चौधरीले वडाध्यक्षलाई फोन गरेर बोलाएपछि वडाध्यक्ष र उनीसँगै आएका आठ÷१० जनाको समूहले वासुकी चौधरीलाई मरणासन्न हुनेगरी कुटपिट गरेर गम्भीर घाइते बनाएको निजकी आमा महामायादेवीले आरोप लगाएको महोत्तरीका प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काले बताउनुभयो ।

वडाध्यक्षसँगै हातमा लगाउने फलामको फाइबर हतियारसहित आएका उनका साथीले वासुकी चौधरीको अनुहार, टाउकोमा कुटपिट गरेपछि उनी लडेका थिए भने लडेपछि पनि बुटले उनको छाती र शरीरभरि कुटपिट गरी उनलाई गम्भीर घाइते बनाएको प्रत्यक्षदर्शी स्थानीयवासीले बताएका छन् । साथै उनीसँगै आएका उदय रायले इँटा उठाएर ज्यानै मार्ने प्रयाससमेत गरेको उनीहरुले बताएका छन् । अनुहार, टाउको, छाती र शरीरको अन्य भागमा चोट लागेर गम्भीर घाइते भएका वासुकीलाई जिल्ला अस्पताल जलेश्वरमा सामान्य उपचार पश्चात थप उपचारका लागि जनकपुर अञ्चल अस्पतालमा पठाइएको प्रहरी नायब उपरीक्षक खड्काले बताउनुभयो ।

वासुकी चौधरीलाई एक्कासि वडाध्यक्ष र उनका साथी आएर मरणासन्न हुनेगरी कुटपिट गरिरहेको देखेर स्थानीयवासीले उनीहरुलाई घेरा हाली समातेका थिए र सबैलाई नियन्त्रणमा लिएर उदय चौधरीलाई एउटा रुखमा बाँधेर राखेका थिए । नियन्त्रणमा लिइएका वडाध्यक्ष तथा उनका साथीलाई प्रहरीचौकी पर्सापतैलीका प्रहरी सहायक निरीक्षक श्याम सिंहले घटनास्थलबाट भगाएको स्थानीवासीले आरोप लगाएका छन् ।

प्रहरी सहायक निरीक्षक सिंहले घटनास्थलबाट वडाध्यक्ष राउत र उनका साथीलाई उम्काइदिएपछि वडा कार्यालयतिर आउँदै गरेका उनीहरुले विपरीत दिशाबाट जाँदै गरेका मटिहानी नपा–९ स्थित बहुअर्बा चोकमा शिव टे«डर्स सञ्चालन गर्दै आएका जलेश्वर–५ बस्ने सीतानन्दन राय र उनका साथी राम एकवाल कापरलाई पर्सा मावि नजिकै रोकेर दुवै जनालाई कुटपिट गर्दै घाइते बनाएर रायको साथमा रहेको रु दुई लाखसमेत लुटेको उनका बुबा राघवेन्द्र रायले जिल्ला प्रहरी कार्यालयमा आएर प्रहरी नायब उपरीक्षक समक्ष जानकारी दिएका छन् ।

तपाईको प्रतिक्रिया

Loading…