वडाअध्यक्षको दादागिरीः सर्वसाधारण पिटेपछि प्रहरी खोरमा

ओखलढुंगा । जिल्लाको मानेभञ्ज्याङ गाउँपालिका वडा नं. ६ थाक्लेका वडा अध्यक्ष हेमराज राईले सर्वसाधारण र पेट्रोल पम्प सञ्चालकमाथि कुटपिट गरेका छन् ।

मादक पदार्थ सेवन गरेर सर्वसाधारणमाथि हातपात गर्दा राई प्रहरी खोरमा पुगेका छन् । मापसे गरेर अर्पण आयल हर्कपुरका सञ्चालक र स्थानीय युवा ठाकुर अधिकारीमाथि आक्रमण गरेपछि राई प्रहरी खोरमा पुगेका हुन् । शनिबार राति मातेर पेट्रोल पम्पमा पुगेका राईले हातपात गरेपछि पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

मासपे गरेर आयल स्टोरमै पुगी डाङडाङ डाङडुङ गरेकाले पक्राउ गरेर अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका प्रमुख अनन्तराम शर्माले बताए । अनुसन्धान गरेर सार्वजनिक शान्ति विरुद्धको कसुरमा मुद्दा चलाइने उनको भनाइ छ । शर्माले जिम्मेवार व्यक्ति नै यसरी गलत क्रियाकलापमा उत्रिएपछि कानुनी कारवाही गर्नु परेको दावी गरे ।

स्थानीय तहको चुनाव अघिसम्म राईले यातायात क्षत्रेमा गुण्डागर्दी गर्दै आएको स्थानीयको आरोप छ । वडा अध्यक्षबाटै असुरक्षित हुने अवस्था आएको पीडित पक्षले गुनासो गरेको छ । घटनापछि प्रहरीले हर्कपुरबाट राईलाई पक्राउ गरेको थियो ।

तपाईको प्रतिक्रिया