लक डाउनको उल्लंघन गर्ने सवारी धरान प्रहरीकाे नियन्त्रणमा

धरान / विश्वव्यापरुपमा फैलिएको कोरोनाको संक्रमण नियन्त्रण गर्न सरकारले गरेको लक डाउनको उल्लंघन गरेको भन्दै धरान प्रहरीले धरानको भानुचैकबाट १२ मोटरसाइकलसहित सवारी १२ जना, ८ वटा सिटी सवारी र एउटा टेम्पोलाई धरान प्रहरीले नियन्त्रणमा लिएको छ । मंगलबारबाट गरिएको लकडाउनको दोस्रो दिन विहानैदेखि कडाइ गरेको प्रहरी प्रशासनले यसरी अनावश्यक रुपमा सवारी साधनसहित हिडडुल गर्नेलाई नियन्त्रणमा लिइएको इलाका प्रहरी कार्यालय धरानले जनाएको छ । प्रदेश सरकारले प्रदेश नं. १ मा रहेका सबै जिल्लामा चैत्र २१ गतेसम्म लक डाउन गरी सर्वसाधारणलाई घरबाहिर ननिस्कन निर्देशन दिए पनि निर्देशनको पालना नगर्नेलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय धरानका डिएसपी ढुण्डीराज न्यौपानेले बताउनुभयो ।

पक्राउ परेकाहरुलाइृ अहिले इलाका प्रहरी कार्यालय धरानमा राखिएको छ । केही बेरमा पक्राउ परेका १२ जनालाई छोडिने भएपनि सवारी साधन भने लडडाउनको समयावधि सकिएपछि मात्रै सम्बन्धित धनीलाई बुझाउने डिएसपी न्यौपानेले बताउनुभयो । धरानमा पहिलो दिनको भन्दा दोस्रो दिनको लकडाउनमा प्रहरी प्रशासनबाट कडा गरिएको छ । सडकमा हिड्ने पैदलयात्रीलाई समेत चौक चौकमा तैथान प्रहरी प्रशासनले अनावश्क नडिह्न भन्दै घर नै पठाउने गरेको छ । सम्भावित कोरोना भाइरस संक्रमण फैलिन नदिन सरकारको निर्देशनलाई पालना गर्दै कडाइ गरिएको डिएसपी न्यौपानेले बताउनुभयो । यद्यपि धरानमा अत्यावश्यक वस्तुको अभाव भने नभएको पाइएको छ । विहान दूध बोकेर आएका गाडीहरुलाई सहज रुपमा धरान प्रवेश गर्न दिइएको छ । खाद्यान्नको जोहोमा प्रहरी प्रशासन सचेत रहेको प्रशासनले जनाएको छ ।

तपाईको प्रतिक्रिया