युवा विदेशिएपछि गाउँमा जनशक्ति अभाव

तेह्रथुम / रोजगारीका लागि युवा विदेशिन थालेपछि जिल्लामा कृषि क्षेत्रमा काम गर्ने जनशक्तिको चरम अभाव भएको छ । पढाइ, रोजगारी र अन्य अवसर खोज्दै युवा गाउँबाट पलायन भइरहेका छन् । युवाशक्तिले गाउँ छाडेपछि कृषि क्षेत्रमा काम गर्ने जनशक्तिको अभाव भएको छ । वर्षेनी काम गर्ने जनशक्ति अभावकै कारण खेतीयोग्य जमिन, खेतबारी र बगान क्षेत्र जंगलमा परिणत भइरहेका छन् ।

एकपछि अर्काे गर्दै गाउँका लाठे र बलवान पाखुरेहरु रोजगारीका लागि विदेशिँदा गाउँका खेतबारीमा काम गर्ने मानिस पाइन छाडेको छथर गाउँपालिका–२ का नारायण सुब्बाले बताउनुभयो । काम गर्ने मानिसको अभाव हुँदा खेतीयोग्य जमिन बाँझिएका छन् । “दुई वर्षअघिसम्म रु १५० मा पाइने एकजना खेताला अहिले रु ५०० दिन्छुभन्दा पनि पाइँदैन”, उहाँले भन्नुभयोे । आफ्नै देशमा रोजगारीको अवसर नपाउँदा अर्धशिक्षित तथा शिक्षित युवासमेत गाउँमा भेटिन छाडेका छन् । वैशाख पहिलो साता जिल्लाका अधिकांश गाउँमा मकै गोड्ने काम चलिरहेको छ ।

हिउँदे धान गोड्ने र अलैँची गोडमेल तथा चिया टिप्ने काम पनि चलिरहेको छ तर कामदारको अभावले किसानले समस्या व्यहोरिरहनुका साथै खेतीयोग्य जमिनको क्षेत्रफल पनि वर्षेनी घटदै गइरहेका छन् । गाउँमा हुने चाडपर्व, बिहे, भोजलगायत शुभकार्यमा समेत युवाको संलग्नता कम हुँदा पहिलेजस्तो रौनक नभएको आठराई गाउँपालिका–४ का वडाध्यक्ष श्यामकुमार भटराईले बताउनुभयो ।

उहाँले भन्नुभयोे, “अब त गाउँमा कसैको मृत्यु भयो भने मलामी जाने मान्छेको पनि अभाव छ, लास बोकेर घाटसम्म लैजाने युवा गाउँमा छैनन्, गाउँमा बूढापाका र केटाकेटीमात्रै भेटिन्छन् ।” खेतीपातीको काममा युवाको ध्यान जान नसकेको चर्चा गर्दै वडाध्यक्ष भटराईले भन्नुभयो, “खेतीपातीमा धेरै दुःख गर्नुपर्छ, मेहनत गर्नुपर्छ तर अहिलेको पुस्तामा मेहनत गर्ने क्रम पहिलेभन्दा धेरै घट्यो ।” ओयाक्जुङका चन्द्र मादेम्बाले भन्नुभयो, “लेखपढ जानेका केही बाँकी थिए, ती शहरतिर लागे, नपढेका केटा ठिटा सबै विदेश छन्”, । कामदार अभावले जिल्लामा एक हजार ४०० रोपनी जमिनमा लगाएको चिया बगान झाडीमा परिणत भएको छ ।

 

PURBELI TV

तपाईको प्रतिक्रिया

Loading…