यस्तो छ सुशनको अपराध यात्रा, राजनैतिक संरक्षणमा ‘खुुङ्खार’ अपराधी

विराटनगर / मोरङको उर्लाबारी नगरपालिका–५ का ३५ वर्षीय सुशन भनिने राजेश्वर लिम्बू अहिले कैद सजाय भुक्तानका लागि झापा कारागार चलान भएका छन् ।

उनलाई जिल्ला अदालत झापाले नौ वर्ष १५ दिन कैद सजाय र ७८ हजार आठ सय रुपैयाँ जरिवानाको फैसला सुनाएको थियो । अपहरण, शरीर बन्धक तथा चोरी मुद्दामा सुशनलाई २०७३ साल माघ ५ गते अदालतले दोषी ठहर गर्यो । भागेर भारत पुगेका उनी उतै लुकेर बसेका कारण मुद्दाको किनारा लागेको चार वर्षसम्म पक्राउ परेनन् । तर लुकिछिपी नेपाल आएका बेला इलाका प्रहरी कार्यालय उर्लाबारीका प्रहरी निरीक्षक उद्धव पोखरेल नेतृत्वको टोलीले उर्लाबारी–४ आइतबारेबाट सुशनलाई मंगलबार राति ९ः३० बजेतिर पक्राउ गरेर झापा प्रहरीको जिम्मा लगायो ।

प्रहरीले बुझाएपछि उनलाई अदालतले जेल सजाय भुक्तानका लागि कारागार चलान गरेको छ । यही मुद्दामा अदालतबाट सुशनसँगै दोषी ठहर भएका मोरङ मधुमल्लाका ३० वर्षीय अर्जुन थेवे भनिने अर्जुन पेहिम लिम्बू हालसम्म फरार छन् ।

घटना अनुसार अर्जुनले आफ्नो बा १३ च ६५९७ नम्बरको बोलेरो गाडी चलाउन लगाएर झापाको बिर्तामोड नगरपालिका–४ का विशाल ढुंगेललाई २०७२ साल पुस १४ गते बिर्तामोडबाट काँकडभिट्टा पु¥याए । त्यसपछि साँझतिर ढुंगेललाई लिएर अर्जुन पुग्दा भारतीय बजार पानीट्यांकीमा सुशनसहित तीन जना मदिरा सेवन गरेर बसिरहेका थिए ।

झापा प्रहरीका प्रवक्ता डीएसपी राकेश थापाका अनुसार पानीट्यांकीबाट ढुंगेलले तत्काल आफू नेपाल फर्किनेभन्दै गाडीको चाबी अर्जुनलाई बुझाउन खोजे । तर ढुंगेललाई नेपाल फर्किन नदिइकन सुशन र अर्जुनको समूहले हातखुट्टा बाँधेर मुखमा टेप लगाई कुटपिट गरी साथमा भएको पाँच हजार रुपैयाँ लुटेर लगेको अनुसन्धानबाट खुलेको थापाको भनाइ छ ।

खाली कोठामा बन्धक बनाएर ढुंगेलको साथमा भएको १४ हजार दुई सय रुपैयाँ पर्ने मोबाइलसमेत लुटियो । सुशन र अर्जुनको समूह सुतेका बेला राति ढुंगेल फुत्किएर काँकडभिट्टा आउन सफल भएको डीएसपी थापाको भनाइ छ । ढुंगेलको जाहेरी अनुसार अपहरण, शरीर बन्धक तथा चोरी मुद्दामा प्रहरीले अनुसन्धान थाले पनि सुशन र अर्जुन फरार थिए ।

अदालतले मुद्दाको किनारा लगाउँदासम्म उनी पक्राउ परेनन् । नेपाल प्रहरीले ‘मोस्ट वाण्टेड’ सूचीमा राखेर सुशन र अर्जुनको खोजी गरिरहेको थियो । घटनामा संलग्न सुशन पक्राउ परे पनि अर्जुन अझैसम्म भागिरहेको डीएसपी थापाको भनाइ छ ।

गुण्डागर्दी, अवैध असुली लगायतका गतिविधीमा केन्द्रीत भएका सुशन एकपछि अर्को अपराधिक पृष्ठभूमिको साङ्लोले बेरिँदै गएका छन् । राजनैतिक आवरण र संरक्षणमा उनी विभिन्न अपराधिक चङ्गुलमा फस्दै गए । जघन्य प्रकृतिका दर्जनौँ अपराधिक घटनामा उनको संलग्नता छ । सुशनको अपराधिक पृष्ठभूमिको फेहरिस्त निक्कै लामो छ । भारत र नेपालमा उनीविरुद्ध विभिन्न अपराधमा संलग्न भएका एक दर्जनभन्दा बढी मुद्दा छन् । साथीभाइको गलत संगत र राजनैतिक संरक्षणले उनलाई ‘खुङ्खार अपराधी’ बनाएर समाजमा चिनाइदिएको जानकारहरु बताउँछन् । उनले ‘ग्याङ’ बनाएरै अपराधिक गतिविधीलाई स्थापित गराउँदै गए ।

गुण्डाको छवि बनाउँदै त्यसकै आडमा राज गरेर चन्दा असुली, अपहरण, चोरी, हत्या प्रयास, लागुऔषध तथा हतियारको कारोबार लगायतका अपराधिक धन्दा चलाउने गरेका लिम्बूलाई त्यही गलत कर्मले अहिले जेल पु¥याएको छ । राजनीतिक संरक्षणमा गुण्डागर्दीलाई पेसा बनाएका उनले तत्कालीन एकीकृत माओवादीको साथ लिएर उधुम मच्चाएका थिए ।

लिम्बू एमाओवादीको भातृ संगठन ‘योङ कम्युनिष्ट लिग’ (वाईसिएल) को मोरङ क्षेत्र नम्बर ९ का तत्कालीन संयोजक हुन् । जानकारहरु पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेतृत्व गरेको तत्कालीन एमाओवादीको आडमा जघन्य प्रकृतिका ठूला अपराधमा उनको उदय भएको बताउँछन् । सत्तारुढ नेकपाको एउटा समूह चलाइरहेका प्रचण्ड अहिले प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको संसद विघटनविरुद्ध सडकमा भइरहेको आन्दोलनको नेतृत्व गरिरहेका छन् ।
जानकारहरुका अनुसार वाईसिएलको क्षेत्रीय नेतृत्वमा पुगेपछि २०६८ सालतिरबाट एउटा छुट्टै गिरोह खडा गरेर सुशनले अपराधिक गतिविधी थालेका हुन् । माओवादीको संरक्षण मिलेपछि उनलाई अपराधकर्म अघि बढाउन थप मद्धत मिल्यो । एक बेला उनको नाम सुन्दामात्रै उर्लाबारी क्षेत्र पूरै त्रसित एवं आतंकित हुनुपर्ने अवस्था रहेको एक स्थानीय बताउँछन् ।

प्रहरीका अनुसार आफ्नो नेतृत्वमा अपराधिक समूह खडा गर्दै सुशन २०६९ वैशाख २० गते उर्लाबारीस्थित कांग्रेस नेता खड्ग फागोको घरमा आक्रमण गर्न पुगेका थिए । पहिलो पटक आक्रमण असफल भएपछि फागोको घरमा दोस्रो पटक उनले आक्रमणको योजना बनाए । र २०६९ साल असार ५ गते राति ११ बजेतिर आक्रमणको योजनासहित पुनः सुशनको समूह फागोको घर घेर्न पुग्यो ।

त्यस क्रममा कांग्रेसमा आवद्ध युवासँग भएको दोहोरो झडपमा सुशनको समूहमा रहेका दुई जना वाईसिएल कार्यकर्ताहरु अरुण मगर र अमर धिमालको मृत्यु भयो । घटनामा राजीव साम्बा घाइते भए । साम्बा अहिले नेकपाको पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल समूहको युवा संघ उर्लाबारीका अध्यक्ष हुन् ।

सुशनलाई उर्लाबारी क्षेत्रका बासिन्दा राजनैतिक संरक्षणमा ‘ग्याङ’ तयार गरेर जघन्य प्रकृतिका अपराधिक घटनामा संलग्न युवाका रुपमा चिन्छन् । ‘सुरुमा राम्रो पारिवारिक पृष्ठभूमिका कारण समाजमा राम्रै छवि थियो,’ एक स्थानीयले भने, ‘तर पछिल्लो समय कुलत र साथीभाइको संगतमा फसेपछि एकाएक अपराधी भएर निस्किए ।’ पारिवारिक पृष्ठभूमि कांग्रेस रहेका सुशन अवैध गतिविधी, असुली र गुण्डागर्दी गर्नकै लागि वाईसिएलमा छिरेको प्रहरीको बुझाइ छ ।

उर्लाबारी झडपपछि फरार भएका सुशनको जघन्य खाले अपराधिक यात्रा त्यही घटनाबाट सुरु भएको प्रहरीको विश्लेषण छ । राजनैतिक दबाबका कारण कारबाहीका लागि उनलाई प्रहरीले पक्राउ गर्न सकेन । उक्त घटनामा आफ्नो संलग्नता स्वीकार गरिसकेका कांग्रेस कार्यकर्ता राजकुमार यादव भने अहिले अदालतको फैसलाबाट जेल सजाय भुक्तान गरिरहेका छन् ।

नेता फागो अहिले उर्लाबारी नगरपालिकाका मेयर छन् । यसअघिको स्थानीय तह निर्वाचनमा विजयी बनेर नगर प्रमुखको जिम्मेवारीमा रहेका उनी पछिल्लो समय राम्रो काम गर्ने जनप्रतिनिधिका रुपमा परिचित छन् । उर्लाबारी घटनापछि सुशनलाई झापाको दमकस्थित ताराबारीमा रहेको धान मिलमा चन्दा उठाउन जाँदै गर्दा प्रहरीले पक्राउको प्रयास गरेको थियो । तर प्रहरीमाथि नै आक्रमण गर्न खोजेपछि प्रहरीले गोली चलाउँदा छलिँदै भागेर उनले ज्यान बचाएका थिए ।

त्यसपछि भारतबाट लागुऔषध लिएर आउँदै गर्दा सशस्त्र प्रहरीले विराटनगरबाट उनलाई नियन्त्रणमा लिएर नेपाल प्रहरीको जिम्मा लगायो । प्रहरीले चलाएको लागुऔषध मुद्दामा अदालतले उनलाई दुई वर्ष कैद सजाय र एक लाख रुपैयाँ जरिवानाको फैसला सुनायो ।

सुशन अदालतको फैसला अनुसार सजाय भुक्तान गरेर कारागारबाट २०७१ साल वैशाख ३० गते छुटे । लागुऔषध मुद्दामा जेलबाट छुटेपछि एमाओवादीले लिम्बूलाई अवीर लगाएर स्वागतसमेत गरेको थियो । त्यसपछि अरु घटनामा संलग्न सुशनलाई प्रहरीले कारबाहीका लागि नियन्त्रणमा लिने आँट गरेन । माओवादीले राजनीतिक रुप दिएर उर्लाबारी घटनालाई त्यतिबेला थामथुम बनाउने प्रयास गरेको प्रहरी स्रोतले बताउँछ । तर त्यही घटनामा संलग्न कांग्रेस कार्यकर्ता भने जेलमा रहेर कैद सजाय भुक्तान गरिरहेका छन् ।

लागुऔषध मुद्दामा जेलबाट छुटेपछि फरार भएका उनी २०७२ साल माघ ३ गते लागुऔषध गाँजा र चोरीको सवारी साधनसहित भारतको पानीट्यांकीबाट पक्राउ परे । पानीट्यांकीको एक होटलबाट उनलाई भारतीय प्रहरीले नौ सय ग्राम गाँजा, चोरी गरेको नेपाली नम्बर प्लेटको मोटरसाइकल र एउटा बलेरो गाडीसहित पक्राउ ग¥यो ।

नेपालमा प्रहरीको ‘मोस्ट वाण्टेड’ सूचीमा रहेका लिम्बू त्यतिबेला पक्राउ पर्दा भारतीय सञ्चार माध्यमले प्राथमिकताका साथ समाचार प्रकासन गरेका थिए । भारतमा जेल बसेर छुटे पनि भारतीय प्रहरीले नेपालमा रहेका मुद्दामा अनुसन्धान गर्न सुशनलाई नेपाल प्रहरीको जिम्मा नलगाइकन छाड्यो ।
२०७२ साल भदौमा इटहरीका निर्माण व्यवसायी (हाल इटहरी उद्योग वाणिज्य संघका अध्यक्ष) भीम पौडेललाई १० लाख रुपैयाँ माग्दै ज्यान मार्ने धम्की दिएको आरोपमा उनी पक्राउ परेको प्रहरी बताउँछ । पैसा नदिए मारेर बुढी खोलामा फालिदिने धम्की पौडेललाई दिएपछि पक्राउ परेका सुशनको अपराधिक पृष्ठभूमिको विगत त्यतिबेला पनि प्रहरीले खोतल्न चाहेन ।

उनलाई गुण्डागर्दी र चन्दा असुली गरिरहेको पाइएपछि प्रहरीले पक्राउ गरेर २०७३ सालमा सार्वजनिक अपराध ऐन (अहिलेको अभद्र व्यवहार मुद्दा) अन्तर्गतको मुद्दा चलायो । प्रहरीले पुरानो घटनामा कारबाहीका लागि चासो नदिँदा उनी एक हजार चार सय रुपैयाँ जरिवाना तिर्दै छुटेर भारततिरै भाग्न सफल भए । त्यतिबेला उर्लाबारीका तत्कालीन प्रहरी निरीक्षक श्रीराम भण्डारीले उनीविरुद्ध कारबाहीका केही कदम अगाडि बढाएको देखिन्छ । सुशन र उनको सूमहले प्रयोग गर्ने हन्क, आर वान–५ र बुलेट मोटरसाइकल नियन्त्रणमा लिएर पनि भण्डारीले अनुसन्धान गरेका थिए ।

मोरङको मधुमल्लामा जग्गा विवादमा एक व्यक्तिको हत्या प्रयास गरेको अभियोग रहे पनि उनीविरुद्ध उक्त घटनामा प्रहरीले कारबाही अघि बढाउन सकेन । उनी पक्राउ पर्नासाथ छुटाउनका लागि तत्कालीन एमाओवादीका नेताको फोन प्रहरीमा पुग्ने गरेकाले समस्या हुने गरेको प्रहरीका एक अधिकृतले बताए । वाईसिलको कार्यकर्ता भएता पनि गरेका विभिन्न गैरकानुनी धन्दामा सुशनमाथि कारबाही अघि बढाउने प्रहरीको जोडमा एमाओवादी नेता बाधक बन्ने गरेको स्रोतले बतायो ।
फरार भए पनि लुकिछिपी अपराधिक यात्रालाई निरन्तरता दिइरहेका सुशनविरुद्ध नेपाल र भारतमा दजनौं अपराधमा मुद्दा रहेको पाइएको मोरङ प्रहरी प्रमुख एसपी सन्तोष खड्काले बताए । ‘कारबाहीबाट जोगिन नेपालमा अपराध गर्दा भारत भाग्ने र भारतमा गर्दा नेपाल आई लुकेर बस्ने गरेको पाइयो,’ उनले भने, ‘अहिले नेपालमा पक्राउ परे पनि भारतमा कुनै अपराध गरेर आएको हुनसक्ने अनुमान छ ।’

सुशनले आफ्नो अपराध यात्रा अघि बढाउन उर्लाबारीलाई भरपुर प्रयोग गरेको प्रहरीका एक अधिकृतको भनाइ छ । तत्कालीन एमाओवादीको संरक्षण मिलेपछि वाईसिएल उर्लाबारीको नेतृत्व हत्याएका सुशनको पृष्ठभूमि र वर्तमानसमेत आपराधिक रहँदै आएको छ । उनी लागूऔषध र अन्य फौजदारी अभियोगमा जेल पर्दै र छुट्दै गरेका व्यक्ति हुन् । उनीसँग जोडिएका सबै घटना र मुद्दाको मिहिन ढंगले अनुसन्धान गर्ने हो भने सुशनको जीवन जेलमै बित्ने प्रहरी अधिकारीहरु बताउँछन् ।

एसपी खड्काले सुशनविरुद्ध नेपालमा अहिलेसम्म कतिवटा मुद्दा छन् भनेर खोज्न र उनीसँग जोडिएका पुराना फायल पल्टाउन थालिएको बताए । ‘जेलमा बसे पनि अरु मुद्दामा अनुसन्धानका लागि तान्न सकिन्छ,’ उनले भने, ‘कारागारबाट ल्याएर अरु अपराधिक घटनाको बयान गराउने लगायतका कारबाही अघि बढाइने छ ।’

सुशनको पारिवारिक पृष्ठभूमि भने राम्रो थियो । उनी मोरङमा जमेका फुटबलर हुन् । उमेर समूहमा भएका फुटबल खेलमा राम्रो फड्को मार्दै अघि बढिरहेका उनी पछि वाईसिएल प्रवेश गरेपछि भने अपराधतर्फ उन्मुख भएको प्रहरी अधिकारी बताउँछन् ।

निधन भइसकेका उनका बुवा बेलायतका अवकाश प्राप्त सैनिक थिए । सुरुमा सुशन उर्लाबारीमा धनाड्य र सम्पन्न परिवारका युवा भनेर चिनिन्थे । दाजु र तीन दिदीबहिनी हङ्कङमा छन् । आमा उर्लाबारी बस्थिन् । उनका श्रीमती र एक छोरा छन् । साथीभाइसँगको गलत संगत र त्यहाँमाथि सशस्त्र द्धन्द्धबाट शान्ति प्रक्रियामा आएको एमाओवादीको संरक्षणले उनी अपराधिक कर्ममा लागेर ‘खुङ्खार अपराधी’ बनेर निस्किएको जानकारहरु बताउँछन् ।

तपाईको प्रतिक्रिया