यसरी गरिएछ दशैंको रात छिमेकीको कत्लेआम

 

मोरङ । सबै तिर विजया दशमीको उल्लास छाइरहेका बेला मोरङको पथरीशनिश्चरे नगरपालिका ८ शुक्रबारेमा भने एक व्यक्तिको हत्या भएको छ ।

१८ वर्षीय कृष्णबहादुर विष्टले खुकुरी प्रहार गरेर स्थानीय २८ वर्षीय विजय खड्काको शुक्रबार राति ९ बजे हत्या गरेको प्रहरीले जनाएको छ । पुरानो रिसिईवीलाई लिएर खुकुरी प्रहार गरिएपछि विजयको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय पथरीका प्रहरी निरीक्षक कमल बजगाईले बताए । उनका अनुसार खुकुरी प्रहारबाट उनको टाउको, अनुहार, घाँटी र शरीरका विभिन्न भागमा गहिरो चोट लागेको  थियो ।

प्रहरीका अनुसार विष्ट र खड्का परिवारबीच पुरानै रिसिईवी थियो । त्यही ठाउँमा १६ वर्ष अघि होली खेल्ने क्रममा एक व्यक्तिको हत्या भएको थियो । त्यही घटनामा चलाइएको कर्तव्य ज्यान मुद्धामा अदालतले कृष्णबहादुरका बुवा अर्जुनकुमारलाई जेल सजाय सुनाएको थियो । जेल सजाय भुक्तान गर्ने क्रममा अर्जुनकुमारको सात वर्ष अघि मोरङ कारागारमै मृत्यु भएको थियो । प्रहरीका अनुसार हत्या गरिएको घटनामा आफ्नो बुवाको संलग्नता नरहे पनि खड्का परिवारले फसाएर जेल पु¥याउने काम गरेको र त्यहीं मृत्यु भएको भन्दै कृष्णबहादुर विजयप्रति आक्रोसित थिए ।

त्यही पुरानो घटनालाई लिएर विष्ट र खड्का परिवारबीच राम्रो सम्बन्ध पनि थिएन । प्रनि बजगाईका अनुसार पुरानो घटनाका बारेमा कृष्णबहादुरलाई उनकी हजुरआमाले सुनाएको खुलेको छ । हजुरआमाको पनि केही समय अघि मृत्यु भइसकेको छ । ‘संलग्न नै नभएको हत्याको घटनामा फसाएर मेरो बुवालाई जेल पठाउने काम भएको थाहा पाएँ । जेलबाट बुवा जीवित फर्किएर आउनु भएन,’ कृष्णबहादुरलाई उद्रित गर्दै बजगाईले भने, ‘खड्का परिवारले मेरा बुवालाई फसाएको कुरा हजुरआमाबाट थाहा पाएको थिएँ । त्यही बद्ला लिनका लागि मैले विजयको हत्या गरेको हुँ ।’

घटनामा संलग्न कृष्णबहादुरलाई तत्कालै घटनास्थलबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ । उर्लाबारी स्थित मंगलबारे अस्पतालमा पोष्टमार्टम गरेर विजयको शव भने आफन्तलाई बुझाइएको छ ।

तपाईको प्रतिक्रिया