मोरङमा लागुऔषध विरुद्ध एसपी खड्काको विशेष ‘अप्रेशन’, विराटनगरबाट दुई महिला पक्राउ

विराटनगर / मोरङ प्रहरी प्रमुख एसपी सन्तोष खड्काले चलाएको विशेष ‘अप्रेशन’का क्रममा विराटनगर महानगरपालिका–१५ रानीबाट लागुऔषधसहित प्रहरीले दुई महिलालाई मंगलबार पक्राउ गरेको छ । पक्राउ पर्नेमा ६० वर्षीया मनकामना झा र ४५ वर्षीया सहेदा खातुन रहेका छन् । उनीहरु दुवै जनाले रानीमा चिया नास्ता पसल सञ्चालन गरेका छन् । चिया नास्ता पसलबाट लागुऔषध बरामद भएपछि उनीहरु पक्राउ परेका हुन् । विशेष सूचनाका आधारमा पसलमा छापा मार्न एसपी खड्का आफै पुगेका थिए । पछि थप मद्धतका लागि इलाका प्रहरी कार्यालय रानीका प्रहरी निरीक्षक दीपक थापा पनि टोली लिएर आए ।

विराटनगर–१५ मा लागुऔषधसहित पक्राउ परेकी मनकामना झाले सञ्चालन गरेको चिया नास्ता पसल ।

एसपी खड्काको नेत्रृत्वमा भएको विशेष ‘अप्रेशन’का क्रममा झाको चिया नास्ता पसलबाट तीन बोतल डाइलेक्स डीसी र ३० चक्की नाइट्राभेट ट्याब्लेट लागुऔषध बरामद भएको थियो । प्रयोग गरिसकिएका डाइलेक्स डीसीका पाँचवटा खाली बोतल पनि प्रहरीले बरामद गरेको छ । चिया बनाउने टेबुलका घर्रा र सोकेसबाट लागुऔषध बरामद भएको प्रहरीले जनाएको छ ।

झासँगै प्रहरीले नजिकै रहेको अर्को चिया नास्ता पसलकी सञ्चालक खातुनलाई पनि पक्राउ गरेको हो । उनले चलाएको पसलको छेउमा भेटिएको झोलामा पाँच बोतल कोरेक्स नामक लागुऔषध फेला परेपछि खातुनलाई पनि नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । प्रहरीको प्रारम्भिक अनुसन्धानबाट केही व्यक्तिहरुले भारतको जोगवनी बजारदेखि ल्याएर लागुऔषध राख्ने र उक्त पसलबाट बिक्रीवितरण हुने गरेको खुलेको छ । लागुऔषध ओसारपसारमा केही व्यक्तिहरुको संलग्नता रहेको पाइएको एसपी खड्काले बताए ।

उनीहरु फरार रहेका कारण खोजी भइरहेको प्रहरीले जनाएको छ । पसलबाटै लागुऔषधसहित पक्राउ परेका महिलालाई लागुऔषध ऐन अन्तर्गतको मुद्दा चलाउन म्याद थप गरेर अनुसन्धान अघि बढाइने एसपी खड्काले बताए ।

 

तपाईको प्रतिक्रिया

Loading…