मोरङमा तीन कोरोना संक्रमितको मृत्यु

विराटनगर / मोरङमा पछिल्लो २४ घण्टाभित्र कोरोना भाइरस संक्रमित तीन जनाको मृत्यु भएको छ । एक वृद्धासहित दुई महिला र एक पुरुषको उपचारका क्रममा विभिन्न कोभिड अस्पतालमा ज्यान गएको हो । कोसी अस्पताल कोभिड–१९ उपचार केन्द्र, विराट शिक्षण अस्पताल र म्याक्स अस्पतालमा एक÷एक जना संक्रमितको मृत्यु भएको छ । विराटनगरको कोसी अस्पताल कोभिड–१९ उपचार केन्द्रमा झापाको मेचीनगर नगरपालिका–४ की ८२ वर्षीया वृद्धा महिलाको सोमबार बिहान मृत्यु भएको छ । उपचार केन्द्रका व्यवस्थापक ज्ञानबहादुर बस्नेतका अनुसार पीसीआर परीक्षण गराउँदा वृद्धामा मंसिर ४ गते कोरोना पुष्टि भएको थियो ।

श्वास फेर्न गाह्रो हुने, ज्वरो आउने लगायतका समस्या देखिएपछि उपचारका लागि भर्ना गरिएकी वृद्धाको बिहान ८ः३० बजेतिर मृत्यु भएको बस्नेतले बताए । त्यस्तै इलामको सूर्योदय नगरपालिका–१० का ५५ वर्षीय पुरुषको मोरङको बूढीगंगा गाउँपालिकास्थित विराट शिक्षण अस्पतालमा आइतबार राति मृत्यु भएको छ । अस्पतालको आइसोलेसन प्रमुख सुनिल देवका अनुसार पीसीआर रिपोर्ट पोजिटिभ आएपछि पुरुषलाई कात्तिक ३० गते उपचारका लागि अस्पताल भर्ना गरिएको थियो ।

अस्पताल भर्ना हुँदा स्वास्थ्य अवस्था नाजुक रहेको उनले बताए । उपचारकै क्रममा पुरुषको राति १०ः३० बजेतिर मृत्यु भएको देवको भनाइ छ ।
विराटनगरकै म्याक्स अस्पतालमा उदयपुरकी कोरोना संक्रमित महिलाको मृत्यु भएको छ । उदयपुरको त्रियुगा नगरपालिका–३ की ३२ वर्षीया महिलाको आइतबार साँझ ६ः३० बजेतिर मृत्यु भएको अस्पतालका सुपरभाइजर अमित मण्डलले जानकारी दिए ।

मुटुमा पुरानै समस्या भएकी महिलाको पीसीआर परीक्षण गराउँदा रिपोर्ट पोजिटिभ आएपछि उपचारका लागि गत शनिबार अस्पताल भर्ना गरिएको थियो । उपचारकै क्रममा उनको मृत्यु भएको मण्डलले बताए ।

तपाईको प्रतिक्रिया