मोरङमा चट्याङले युवाको मृत्यु, श्रीमान–श्रीमती घाइते

विराटनगर / हावाहुरी र वर्षासँगै परेको चट्याङले मोरङको रंगेलीमा एक युवाको मृत्यु भएको छ । जहदामा एकै परिवारका श्रीमान र श्रीमती घाइते भएका छन् । रंगेलीमा आइतबार बिहान परेको चट्याङले लागेर रंगेली नगरपालिका–१ का ३० वर्षीय प्रवीन माझीको मृत्यु भएको हो । बारीमा काम गरिरहेका बेला बिहान पौने ९ बजेतिर परेको चट्याङले लागेर उनी गम्भीर घाइते भएका थिए ।

उपचारका लागि रंगेली अस्पताल पु¥याउनसाथ चिकित्सकले मृत घोषित गरेको जानकारी प्रदेश १ प्रहरी कार्यालय विराटनगरका प्रवक्ता एसपी महेन्द्रकुमार श्रेष्ठले दिए । त्यस्तै जहदा गाउँपालिका–६ पोखरीयामा चट्याङले लागेर घरमा बसिरहेका श्रीमान–श्रीमती घाइते भएका छन् । बिहान ९ बजेतिर परेको चट्याङले लागेर ४५ वर्षीय मुक्तर मिया अन्सारी र उनकी श्रीमती जननारा खातुन घाइते भएका हुन् ।

घरमा बसिरहेका बेला चट्याङले लागेर दुवै जना घाइते भएको प्रहरीले जनाएको छ । उनीहरुको विराटनगरस्थित कोसी अस्पतालमा उपचार भइरहेको एसपी श्रेष्ठले बताए ।

तपाईको प्रतिक्रिया