मोरङको सुन्दरहरैँचामा भएको दुर्घटनामा १५ दिने शिशुको मृत्यु

विराटनगर / मोरङको सुन्दरहरैँचा नगरपालिकामा मोटरसाइकलले पैदल यात्रुलाई ठक्कर दिँदा भएको दुर्घटनामा परेर १५ दिनका शिशुको ज्यान गएको छ ।
पूर्व–पश्चिम राजमार्ग अन्तर्गत सुन्दरहरैँचा–६ दुलारीमा भएको दुर्घटनामा २५ वर्षीया कल्पना यादवका १५ दिने छोरा देव यादवको मृत्यु भएको इलाका प्रहरी कार्यालय बेलबारीका प्रहरी निरीक्षक ऋषिराज ढकालले बताए ।

उनका अनुसार विराटनगर महानगरपालिका–१२ घर भएकी सुत्केरी अवस्थाकी कल्पना केही समयदेखि सुन्दरहरैँचा–४ मा डेरा बस्दै आएको खुलेको छ ।
रातको समयमा अचानक छोरो बिरामी परेपछि उपचारका लागि लिएर जाने क्रममा पैदल हिँडिरहेकी उनलाई सडक पार गर्दैगर्दा को ३६ प ४४२४ नम्बरको मोटरसाइकलले राति १० बजेतिर ठक्कर दिएको ढकालले बताए । मोटरसाइकलले ठक्कर दिँदा आमाले च्यापेका शिशु भुइँमा बजारिएका थिए । प्रनि ढकालका अनुसार दुर्घटनामा परेर आमा र छोरानै घाइते भएपछि तत्काल उपचारका लागि स्थानीय मेडिकलमा पु¥याइएको थियो ।

तर छोराको अवस्था गम्भीर बन्दै गएपछि थप उपचारका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान लगिएको थियो । धरानमै उपचारका क्रममा शिशुको बुधबार बिहान १ बजेतिर मृत्यु भएको प्रहरीले जनाएको छ । ‘दुर्घटनामा परेका आमा–छोरा दुवैको अवस्था सुरुमा समान्य थियो,’ ढकालले भने, ‘पछि स्वास्थ्य अवस्था विग्रदै गएकाले थप उपचारका लागि धरान लगिए पनि शिशु भने जीवित रहेनन् ।’ मोटरसाइकलको ठक्करबाट कल्पनाको पनि खुट्टा लगायत शरीरका विभिन्न भागमा चोट लागेको छ । उनको अवस्था भने सामान्य रहेको प्रहरीको भनाइ छ । प्रहरीले मोटरसाइकल चालक सुन्दरहरैँचा–७ का विनोद चौधरीलाई नियन्त्रणमा लिएर घटनाको अनुसन्धान सुरु गरिएको जनाएको छ ।

तपाईको प्रतिक्रिया