मोरङको लेटाङमा दुई बालिकामाथि बलात्कार र बलात्कार प्रयास, घटनामा संलग्न दुई जना पक्राउ

विराटनगर / मोरङको लेटाङमा दुई जना बालिकामाथि बलात्कार र बलात्कार प्रयास गरिएको घटनामा संलग्न दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । एकै दिन पक्राउ पर्नेमा लेटाङ नगरपालिका–९ जाँतेका ४६ वर्षीय तीर्थबहादुर कार्की र लेटाङ–४ का २५ वर्षीय राजु दमाई छन् । ११ वर्षीया बालिका बलात्कार गरेको आरोपमा कार्की र १४ वर्षीया बालिकालाई बलात्कार प्रयास गरेको आरोपमा दमाई पक्राउ परेका हुन् ।

मोरङ प्रहरीका प्रवक्ता डीएसपी लोकदर्शन थापाका अनुसार गाउँबाट खसीको मासु लिएर आउँदै गर्दा लेटाङ–८ की बालिकालाई कार्कीले आफ्नै घर भित्र लगेर बलात्कार गरेको खुलेको छ । ललाईफकाई प्रलोभनमा पार्न खोजे पनि इन्कार गरेपछि बालिकालाई विभिन्न धम्की दिँदै भित्र लगेर बलात्कार गरेको खुलेको थापाले बताए । बालिकाले घटनाका बारेमा सबै कुरा बताएपछि अभिभावकले कार्की विरुद्ध किटानी जाहेरी दिएका छन् ।

पक्राउ परेका कार्की विरुद्ध जवरजस्ती करणी मुद्दा चलाउन मंगलबार म्याद थप गरेर अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ । बलात्कृत बालिकालाई भने उपचार र स्वास्थ्य परीक्षणका लागि कोशी अस्पताल विराटनगर ल्याइएको छ । त्यस्तै पक्राउ परेका दमाईले लेटाङ–५ खेरुवामा पढ्नका लागि स्कुल जाँदै गरेकी १४ वर्षीय बालिकामाथि बलात्कार प्रयास गरेका छन् । बाटोमा रहेको एकान्त जंगलमा पछाडिबाट आएर मुख थुने पनि उम्किएर भाग्न सफल भएका कारण बालिका बलात्कृत हुनबाट भने जोगिएको प्रहरीले जनाएको छ ।

फुत्किएर भाग्ने क्रममा बालिकाको अनुहारमा सामान्य चोटहरु लागेको डीएसपी थापाले बताए । उनलाई पनि उपचार र स्वास्थ्य परीक्षणका लागि कोशी अस्पतालमै ल्याइएको छ । डीएसपी थापाकाअनुसार बालिकाका अभिभावकले किटानी जाहेरी दिएपछि पक्राउ परेका दमाई विरुद्ध बाल यौन दुरव्यवहार मुद्दा चलाउन मंगलबार म्याद थप गरेर घटनाको अनुसन्धान सुरु गरिएको छ ।

तपाईको प्रतिक्रिया