मोरङको बेलबारीमा दुर्घटना : मोटरसाइकल चालकको मृत्यु

विराटनगर / पूर्व–पश्चिम राजमार्ग अन्तर्गत मोरङको बेलबारी नगरपालिका–४ बेतनामा भएको दुर्घटनामा झापाको अर्जुनधारा नगरपालिका–५ का ५४ वर्षीय पशुपति भट्टराईको सोमबार साँझ मृत्यु भएको छ ।

राजमार्गमा पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको मे ३ प ४०९७ नम्बरको मोटरसाइकल र विपरित दिशाबाट आउँदै गरेको को १ ज ३७६४ नम्बरको म्याजिक भेन ठोक्किँदा दुर्घटना भएको थियो । दुर्घटनामा घाइते भएका मोटरसाइकल चालक भट्टराईको उपचारका क्रममा न्युरो अस्पताल विराटनगरमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

मोटरसाइकलको पछाडि सवार उनकी श्रीमती लक्ष्मी भट्टराई घाइते भएकी छन् । उनको न्युरोमै उपचार भइरहेको छ । म्याजिक र चालकलाई नियन्त्रणमा लिएर घटनाको अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया