मोरङको उर्लाबारीबाट प्रतिबन्धित औषधिसहित युवा पक्राउ

विराटनगर / प्रहरीले मोरङको उर्लाबारीबाट प्रतिबन्धित औषधिसहित एक युवालाई पक्राउ गरेको छ । नेपालमा प्रयोग गर्न प्रतिबन्धत लगाइएको औषधिसहित २० वर्षीय कोपवन राई सोमबार राति ९:२० बजेतिर पक्राउ परेका छन् । इलाका प्रहरी कार्यालय उर्लाबारीका प्रहरी निरीक्षक (इन्सपेक्टर) राजाराम खड्का नेतृत्वको टोलीले राईलाई उर्लाबारी नगरपालिका–५ स्कुलडाँडाबाट पक्राउ गरेको हो ।

भोजपुरको हतुवागढी गाउँपालिका–८ घर भएका राई परिवारसहित मोरङको बेलबारी नगरपालिका–२ लालभित्तीमा बस्दै आएको खुलेको छ । उनको साथबाट दुई प्रकारका दुई हजार छ सय चक्की औषधि प्रहरीले बरामद गरेको छ ।

ट्रामाडोल एक हजार तीन सय र स्पास्पाइन एक हजार तीन सय गरेर दुई हजार छ सय चक्की प्रतिबन्धित औषधि राईको साथबाट बरामद भएको प्रहरीले जनाएको छ । दुवै औषधि मिसाएर सेवन गर्दा लागुऔषधको जस्तै नसा दिने भएकाले पछिल्लो समय दुव्र्यसनीको आकर्ष प्रतिबन्धित औषधितर्फ बढ्दै गएको निस्कर्ष प्रहरीको छ । हरियो रंगको झोला बोकेर शंकास्पद रूपमा हिँडडुल गरिरहेको अवस्थामा पक्राउ परेका राईमाथि प्रहरीले अनुसन्धान अघि बढाएको छ ।

तपाईको प्रतिक्रिया