महोत्तरी र धनुषामा कारागार निर्माणको लागि जग्गाको खोजी शुरु

जलेश्वर र महोत्तरी र धनुषाको लागि जलेश्वरमा रहेको एकमात्र जिल्ला कारागार दिनप्रतिदिन यातनागृहमा परिवर्तन हुदै गएको छ । सरोकारबाला निकायहरुले जिल्ला कारागारको अहिलेको भवनलाई नयाँ नबनाएसम्म सुधारगृहमा परिवर्तन गर्न गाह्रो हुने जनाएको छ । निकै पुरानो भवन हुनु, भवन पनि जिर्ण हुदै जानु, क्षमताभन्दा तेब्बरबढी कैदीबन्दी हुनु तथा कैदीबन्दीको संख्या अनुसार शौचालय, धाराको अभाव हुनु आदि कारणले यो यातनागृह बनेको जलेश्वरका युवा शिवचन्द्र चौधरीले बताउनुभयो । स्थान अभावमा सुत्न मात्रै होइन शौचालय जान पनि कठिनाई रहेको बताउनुहुदै युवा चौधरीले कारागारको नयाँ भवनको लागि ठाउँको खोजी भइरहेको बताउनुभयो ।

राणाकालमा बनेको यो कारागारको भवन जिर्ण हुदै गएको छ । यो भवनलाई मरम्मत गरेर हुँदैन् नयाँ नै बनाउनुपर्ने अवस्था रहेको जलेश्वर कारागारका जेलर प्रदिपकुमार साहले बताउनुभयो । १ सय ३५ कैदीबन्दीको क्षमता रहेको यस कारागारमा अहिले ४ सय ६८ कैदीबन्दी छन् । जसमा ४१ महिला र २ जना आश्रित रहेका छन् ।

कैदीबन्दीको संख्या बढी हुनु र भवनको अभाव हुँदा कारागारमा कैदीवन्दीहरुलाई पालैपालो सुत्नुपर्ने अवस्था रहेको छ । शौचालय जान पनि दुई घण्टाभन्दा बढी पखर्नुपर्ने वाध्यता रहेको छ । कारागारलाई जतिसुकै सुधारगृहको रुपमा लग्ने कोशिश गरेपनि आधारभूत आवश्यकता नै पुरा नभएपछि कसरी सुधारगृह बनाउन सकिन्छ ? प्रश्न गर्नुहुदै कारागार प्रमुख साहले भन्नुभयो, ‘जिर्ण कारागार र क्षमताभन्दा बढी कैदीवन्दीका कारणले कैदीबन्दीहरुलाई ज्यादै नै कष्ट भोग्नुपरिरहेको छ ।’ दुईवटा जिल्लाको कारागार यहाँ रहनु तथा सर्लाहीमा पनि निर्माणाधीन रहनुले कैदीबन्दी बढदै गएको कारागार प्रशासनले जनाएको छ ।

करिब २ बिग्हामा रहेको कारागारमा कैदीबन्दीहरुलाई अन्य कारागारमा स्थानान्तरण गरिएपनि समस्याँ ज्यूका त्यूँ रहेका छन् । केही महिना अगाडी मात्रै माथिल्लो तल्लाका भवन चर्किएपछि र ठाउँ अभाव भएपछि ६ जना कैदीबन्दीहरुलाई झुम्का कारागारमा सारिएको थियो । कारागारलाई सुधारगृह बनाउन कम्तीमा पनि ५÷६ बिग्हा जग्गामा भवन निर्माणसहित अन्य पूर्वाधारहरु निर्माण गरिनुपर्ने आवश्यकता रहेको देखिएको छ । त्यसैको लागि जलेश्वरमा जग्गाको खोजी शुरु गरिएको जनाइएको छ । उद्योग वाणिज्य संघका सदस्य समेत रहनुभएका युवा शिवचन्द्र चौधरीले अहिलेको कारागार भएको ठाउँ साँधुरो भएकोले सुधारगृहको रुपमा लग्ने गरी नयाँ जग्गा खोज्न शुरु गरिएको छ ।

उहाँले प्रमुख जिल्ला अधिकारी उमेश ढकाल, जलेश्वर नगरपालिकाका प्रमुख रामशंकर मिश्र, उद्योग वाणिज्य संघका पदाधिकारीहरुसहित स्थानीयहरुको बसेको एक बैठकमा कारागार जिर्ण भएको भन्दै नयाँ बनाउन जग्गाको खोजी शुरु गर्ने निर्णय गरिएको छ । पहिलो चरणमा जलेश्वरमा रहेको गुठीका जग्गाहरु दिन पहल गर्ने गरी काम अगाडी बढाइएको बताउनुहुदै सो नभए अन्य विकल्पहरुको खोजी गरिने गरी कार्य अगाडी बढेको छ ।

जिल्ला कारागारलाई पनि बर्दिबासमा सार्ने हल्ला भइरहेको समयमा स्थानीयहरुले जलेश्वर नगरपालिकाको पहलमा जग्गाको खोजी कार्य शुरु गरेको स्थानीय युवा पप्पुकुमार साहले बताउनुभयो । उहाँले जलेश्वर नगरपालिकाका प्रमुख रामशंकर मिश्रको पहलमा जग्गाको खोजी शुरु गरिएको र जग्गा प्राप्तिपछि सुधारगृहको रुपमा पूर्वाधारहरुको निर्माण गर्ने गरी छलफल अगाडी बढेको जानकारी दिनुभयो ।

तपाईको प्रतिक्रिया

Loading…