भोज खाएका ४१ जना एकैपटक बिरामी

तनहुँ / तनहुँको भानु नगरपालिकाका धनराज श्रेष्ठको छोराको भात खुवाइमा भोज खाएका ४१ गाउँले बिरामी परेका छन् । स्थानीयवासीले भोजमा माछा, कुखुराको मासु, केराउको तरकारी, सलादलगायत खाएका थिए । माछा खाएका गाउँले बिरामी परेको भानु नगरपालिका–३ का वडाध्यक्ष दलनारायण श्रेष्ठले जानकारी दिएका छन् ।

बिरामी परेका स्थानीयवासीलाई झाडापखाला लाग्ने, टाउको दुख्ने, ज्वरो आउने लक्षण देखापरेको छ। बिरामीमध्ये तीनलाई थप उपचारका लागि काठमाडौँ पठाइएको छ भने अन्य बिरामीको डुम्रेस्थित लक्ष्मी अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ। माछा खाएका स्थानीयवासी मात्रै बिरामी परेकाले माछाको असर देखिएको हुनसक्ने इलाका प्रहरी कार्यालय भानु मुकाम डुम्रेका प्रहरी निरीक्षक नीरज डाँगीले जानकारी दिए ।

तपाईको प्रतिक्रिया

Loading…