बेहोस बनाएर लुटपाट गर्ने १० महिनापछि पक्राउ

मोरङ / मोरङको लेटाङ नगरपालिका–५ मा बेहोस बनाएर एक महिलामाथि लुटपाट गरेको घटनामा संलग्न दुई जनालाई प्रहरीले १० महिनापछि पक्राउ गरेको छ । पक्राउ पर्नेमा सुनसरीको इटहरी उपमहानगरपालिका– १७ की २५ वर्षीय हजरा खातुन र २९ वर्षीय महमद अली रहेको मोरङ प्रहरीका प्रवक्ता डीएसपी घनश्याम श्रेष्ठले बताए । उनका अनुसार दुवै जना २०७५ असार १७ गते साँझ पानी परिहरको बेला लेटाङ–५ की ३९ वर्षीय सुनिता लिम्बूको घरमा ओत लाग्न भनी आएका थिए । उनीहरुले त्यतिबेला सुनिताकै मोबाइल मागेर विभिन्न ठाउँमा फोन गर्दै आफूहरुसँग साथमा ५ लाख रुपैयाँ रहेको छ राखिदिनु समेत भनेका थिए ।

त्यस क्रममा सुनिता र पति ४५ वर्षी प्रेम लिम्बूलाई यो शिवजीको पर्साद हो यसले फलिफाप गर्छ भन्दै रातो टीका लगाइदिएको डीएसपी श्रेष्ठले बताए । उनका अनुसार उक्त टीका लगाइदिएपछि लिम्बू दम्पति बेहोस बनेका थिए । बेहोस बनेपछि सुनिताले लगाएको सुनको सिक्री, कानमा लगाउने पिंजडा, सुनको बाला, ५ हजार नगद, कपडा समेत गरेर दुई लाख भन्दा बढी लुटपाट गरेर दुवै जना त्यहाँबाट फरार बनेको डीएसपी श्रेष्ठको भनाइ छ ।

सोही घटनाको लामो अनुसन्धानपछि वास्तविकता पत्ता लागेको जानकारी उनले दिए । घटनामा संलग्न दुवै जनालाई विराटनगर महानगरपालिका–४ बरगाछीबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ । दुवै जना विरुद्ध मुलुकी फौजदारी कार्यविधी (संहिता) ऐन २०७४ बमोजिम अदालतबाट शुक्रबार म्याद थप गरेर अनुसन्धान थालिएको जानकारी डीएसपी श्रेष्ठले दिए ।

Subscribe PURBELI TV

तपाईको प्रतिक्रिया

Loading…