हँसियाले छाती र कलेजो छेडदै पेटसम्म पुगेको बालकको यसरी भयो सफल शल्यक्रिया

राजविराज / आवश्यक दक्ष जनशक्ति र उपकरण थपिँदै गएपछि राजविराजस्थित गजेन्द्र नारायण सिंह अस्पतालका चिकित्सकले एकपछि अर्को गम्भिर प्रकृतीका बिरामीको उपचारमा सफलता पाउँदै आएका छन् । एक बालकको ठूलो आन्द्रामा देखिएको डियु.फर (आन्द्रामा घाँउ र ट्युमर) को सफल शल्यक्रिया गरेको सात दिन नबित्दै अर्को जटिल प्रकृतीको शल्यक्रियामा समेत सफलता पाएको हो ।

कचियाँ हँसिया (घाँस काट्न प्रयोग गरिने) छातीबाट पेटमा चिरी सिकिस्त भएका एक बालकको यस अस्पतालका चिकित्सकहरुले शुक्रबार जटिल शल्यक्रिया सफलतापूर्वक सम्पन्न गरेका हुन् । विगतमा आफ्नो साख गुमाउँदै गएको यस अस्पतालमा केही समययता दक्ष जनशक्ति, प्रविधि तथा उपकरणको सुविधा भएपछि अस्पतालप्रति जनविश्वास बढेको छ ।घटना विवरण अनुसार सप्तरीको छिन्नमस्ता गाउँपालिका १ बरही विरपुरका बिनय रायका ८ वर्षिय छोरा इनरजित बिहीबार साँझ घरको आंगनमा खेल्दै गर्दा अचानक लड्दा आंगनमा राखिएको कचिया हसिया उनको छाती हुँदै पेटसम्म छिरेको थियो । आफन्तले तत्कालै उनलाई गम्भिर अवस्थामा जसोतसो स्थानिय गजेन्द्र नारायण सिंह अस्पतालसम्म पु¥याएका थिए ।

अस्पतालका डा. राजिव मिश्रा (सर्जन) को नेतृत्वमा डा. पारसमणि साह, डा. उदित चौधरी, डा. आदित्य मिश्रासहितको चिकित्सक तथा स्वास्थ्यकर्मीको टोलीले बालकको उपचार गरेका हुन् । छाती हुँदै पेटसम्म छिरेको हसिया निकाल्न डा. मिश्राको नेतृत्वको टोलीले छाती र पेट दुबैको शल्यक्रिया गर्न करिब चार घण्टा समय लागेको अस्पतालले जनाएको छ ।
टोलीको नेतृत्व गरेका डा. मिश्रले हँसिया छातीको करंङ्गहुँदै देब्रेपट्टीको कलेजोलाई पनि छेर्दै पेटसम्म पुगेको तर, समयमै बालकलाई अस्पताल ल्याइएकोले ज्यान जोगाउन सफल भएको बताए ।

यता अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. चुमनलाल दासले प्रबिधी, उपकरण र दक्ष जनशक्ति थपिदै गएपछि अस्पतालबाट जटिल रोगको उपचार र शल्यक्रियामा सफलता मिल्दै गएको बताए । उनले यस्ता गम्भीर प्रकृतीको शल्यक्रिया यस अस्पतालबाट दोश्रो पटक गरिएको बताए । यसअघि अस्पतालमै एक बालकको ठूलो आन्द्रामा देखिएको डियु.फर (आन्द्रामा घाँउ र ट्युमर) को जोखीमपूर्ण शल्यक्रिया सफलतापूर्वक सम्पन्न गरिएको थियो ।

तपाईको प्रतिक्रिया

Loading…