बाढीले पाँचखपनमा २ घर विस्थापित, चैनपुर–बाह्रबिशे सडक अवरुद्ध

असार / संखुवासभा, संखुवासभाको पाँचखपन नगरपालिकामा दुई घर विस्थापित भएको छ । गएराती परेको अबिरल वर्षाका कारण वडा नं. १ मा दुई घर विस्थापित भएको छ । वडा नं. १ को खहरे स्थित बुद्ध चौकका भत्त बहादुर तामाङको घर वर्षा संगै आएको बाढीले क्षति पु¥याएको छ । घर भित्र बाढी पसेका कारण सरसामान, लत्ताकपडा र अन्नपात भिजेको स्थानीय राजकुमार तामाङले बताए । सडकमा नाली नकाटिएकाले बाढी घरमा पसेको तामाङले बताए । उनीहरु छिमेकीकोमा शरण परेका छन् ।

यस्तै वडा नं. १ कै सिप्रिङ गाउँका तेज बहादुर हांगाम लिम्बुको घरमुनि पहिरो गएपछी उनको परिवार विस्थापित भएको छ । पहिरोका कारण बंगुर र बाख्राको खोर बगाएको वडाअध्यक्ष टेक बहादुर बुढाथोकीले बताए । घर जोखिममा परेपछी उनीहरुलाई सुरक्षित स्थानमा सारिएको बुढाथोकीले बताए ।
बाढी कै कारण चैनपुर बाह्रविशे सडक खण्ड अवरुद्ध भएको छ । सडक आसपासका हेवाँ खोला, खहरे खोलामा बाढीले सडक बगाएको बुढाथोकीले बताए । सडकका विभिन्न स्थानहरुमा पहिरो गएको छ उनले भने । सडक अवरुद्ध हुँदा जनजीवन प्रभावित बनेको उनले बताए ।

तपाईको प्रतिक्रिया

Loading…