बसले दुई अबोध बालबालिकालाई बसपार्कमा अलपत्र पारे

उदयपुर / उदयपुरमा हिमाली यातायात व्यवसायी केन्द्रद्वारा संचालित को.१ ख ४७२२ नम्बरको बसले दुई बालबालिकालाई बुधबार साँझ ४ बजे त्रियुगा बसपार्कमा अलपत्र पारेका छन् । मुलघर दैलेख मलुका १२ वर्षिय बालक कमल शाही ठकुरी र ३ वर्षिय रितु तामाङलाई त्रियुगा बसपार्कमा हिमाली यातायात व्यवसायी केन्द्रद्वारा संचालित बसले अलपत्र पारेका हुन् ।

दुई बालबालिका खोटाङ बारापोखरी १ खोसार्नेबाट हजुरआमालाई भेटेर आउने क्रममा पर्वत तामाङलाई बनेपासम्म पुर्याउने जिम्मा लगाएका थिए । तर, पर्वत तामाङले दुई बालबालिकालाई रौतामाई गाउँपालिका ४ रसुवाघाटमा हिमाली यातायात व्यवसायी केन्द्रद्वारा संचालित बसमा चढाएर बस कण्डक्टर र बस ड्राइभरलाई बनेपासम्म छोडि दिने सर्तमा लिएर आएका थिए ।

बस चालक र बसका कण्डक्टरले ति बालबालिकालाई त्रियुगा बसपार्कमा ओरालेर अलपत्र छाडेको उनीहरुसँगै बसमा आएकी कमला पोखरेलले बताईन् । उनका अनुसार ति बच्चाहरु बसमा चढेदेखि उल्टी गर्न, छाद्न थालेपछि आफुले स्यहार गर्दै बसपार्कसम्म लिएर आएको बताईन् । उनले भनिन्, ‘अभिभावक को हो थाह भएन, तर बच्चाहरु रुने कराउने गर्नथालेपछि आफुले यहाँसम्म लिएर आएको हुँ, जे खान दियो त्यही उल्टी गर्ने, उनीहरले उल्टी गर्दा मेरो शरिर नै पुरै फोहर भैसक्यो तर, बस चालक, कण्डक्टरले कुनै वास्ता गरेनन् ।’ उनले भनिन्, ‘विना अभिभावकको बच्चा जिम्मा लिने कस्तो बस व्यवसायी हुन, माया दाया भन्ने कुनै चिज नै छैन, जानी जानी पैसाको लागि अवोध बालबालिकालाई बसमा चढाउनु कहाँको मानवता हो ।’

रसुवामा बस चालकलाई बनेपासम्म छोडनको लागि भाडा समेत दिइएको बालक कमल ठकुरीले बताए । उनका अनुसार हामीलाई बनेपासम्म छोडने जिम्मा बस ड्राइभरले लिएको थियो तर, हामीलाई बसपार्कमा अलपत्र पार्यो । बस संचालक मेम रुचालले बस चालक र कण्डक्टरले यस्तो गल्ती नगरेको बताए । दुवै बालबालिका अहिले जिल्ला प्रहरी कार्यालय उदयपुरमा राखिएको छ । रितु तामाङकी आमा निरा तामाङलाई सम्पर्क गर्दा छोरीलाई माइतमै छोडेर बनेपा आएको स्वीकार गरेकी छिन् । कमल ठकुरीका बुवा रमेश ठकुरी बनेपामा मजदुरी गर्दै आएका छन् । निरा तामाङ रमेशको दोस्रो श्रीमति हुन् । उनीहरुको वास्तविक घर दैलेख हो ।

तपाईको प्रतिक्रिया

Loading…