फोहोर व्यवस्थापन नहुँदा बसपार्कको अवस्था दयनीय

जनकपुरधाम / जनकपुर प्रदेश नम्बर २ को मुख्य शहर हो । पछिल्लो समय जनघनत्व बढेसंगै जनकपुरधामको एक मात्र बस पार्कमा फोहोर व्यवस्थापन नहुँदा शहरले सुन्दरता गुमाउदै गएको छ भने सरसफाईको लोभलाग्दो योजना बनाएको स्थानिय जनप्रतिनिधिले बाचा अनुरुप काम नगरेपछि स्थानिय समेत आक्रोशित बनेका छन् ।

केन्द्रीय गुठी संस्थानसँग सम्झौता गरि ४ बिगाह जग्गामा निर्माण गरिएको नयाँ बसपार्कमा फोहर र दुर्गन्धले यात्रुहरूलाई असहज भएको छ। दैनिक हजारै यात्रुको आवत जावत गर्ने ठाउँ बसपार्क भित्र बनाइएको शौचालय खण्डहरमा परिणत भएको छ । बसपार्क भित्र रहेका दुई शौचालयमध्ये एउटा प्रयोग विहीन भएको छ भने अर्को शौचालय सरसफाईको अभावमा अत्यन्तै दुर्घ्न्धित बनेको छ । बसपार्कको दुर्दशा हेर्दा स्थानीयले जनकपुर यातायात व्यवसायी संघको काम र कर्तव्यमाथि नै प्रश्न चिन्ह खडा गर्दै आएका छन् । बसपार्कको यो अवस्था आउनुमा नगरपालिका र बस व्यवसायी संघको लापरवाही रहेको स्थानीय शोभाकान्त पाण्डेयले बताए ।

मिथिलाको प्राचीन राजधानी जनकपुरधाममा लामो र छोटो दूरी यात्रा तय गर्न बस पार्क आउने जाने यात्रुलाई सौच गर्न खाली चौरको सहारा लिनु परेको छ । बस संचालक र साहुहरूसँग लाखौं रुपैयाँ पैसा उठाउँदै आएको जनकपुर अञ्चल बस व्यवसायी संघले आफ्नो दायित्व पूरा नगर्दा बसपार्क कुरूप र अस्त व्यस्त देखिएको छ । व्यवस्थित र सुविधासम्पन्न बस पार्क बनाउन करोडौं रुपैयाँ खर्च लाग्ने जनकपुर अञ्चल बस व्यवसायी संघका अध्यक्ष मनोज चौधरीको भनाइ छ । उनी भन्छन्, ‘करोडौं खर्च गर्न यहाँका व्यवसायीको आट छैन।’ जनकपुर उप–महानगरपालिकाको लापरवाहीले गर्दा बस पार्कको यो अवस्था आएको चौधरीको भनाई छ।यसअघि ३२ करोड रुपैयाँ पनि नगरपालिकाको कारण फ्रिज भएर गएको उनको आरोप छ ।

बसपार्क भित्र जीर्ण टिकट काउन्टर, यात्रुका लागि बनाइएका प्रतिक्षालय भवन र अव्यवस्थित पार्किङले जनकपुर अञ्चल बस व्यवसायी संघको वास्तविक चरित्र देखाएको छ।जनकपुर अञ्चल बस व्यसायी संघले सटर भाडाबाट प्रत्येक महिना १७ हजार ५ सय रुपैयाँ उठाउँदै आएको छ। संघमा अहिले ५० देखि ५५ जना कर्मचारी छन् ।

तपाईको प्रतिक्रिया

Loading…