फोहोरबाट मोहर बनाउँदै महिला

लहान / सप्तरीको सुरुङ्गा नगरपालिका–५ कुशहाकी अमिरकादेवी चौधरीलाई बिहानको पाँच नबज्दै बारीमा उम्रिएको झारपात र गाईवस्तुको गोबर सोहर्न हतारो हुन्छ । चौधरीलाई करेसाबारीबाट झारपात र गाईवस्तुको गोबर संकलन फोहोरका रुपमा फ्याँक्न होइन्, ती फोहोरबाट मोहर बनाउन हतारो हुन्छ । बिहानै टिपेको झारपात र गोबरलाई गोडमेल गरी त्यसमा कृषि चुना प्रयोग गरेर चौधरीले जैविक मल बनाउँदै आउनुभएको छ । बजारमा पाइने युरिया, डिएपी, पोटास लगायतका रासायनिक मलकै भरमा खेती गर्दै आउनुभएकी ३२ वर्षीया चौधरी अहिले आफँैले जैविक मल तयार गरिरहनुभएको छ ।

व्यावसायिक रुपमा कृषि पेशा गर्दै आउनुभएकी चौधरी अब रासायनिक मलको साटो आफँैले बनाएको जैविक मल प्रयोग गरी खेती गरिरहनुभएको छ । उहाँले केही वर्ष अघिसम्म उत्पादन बढाउन अत्यधिक रासायनिक मलको प्रयोग गर्दै आउनुभएको थियो ।

“रासायनिक मलको बेफाइदा र जैविक मलको फाइदाबारे बुझेपछि जैविक मल बनाउन थालेकी हुँ,” उहाँले भन्नुभयो । थोरै लगानी र मिहिनेतमा आफ्नै घरमा जैविक मल बनाउन सकिने भएपछि उहाँ उत्साहित हुनुभएको छ । जैविक मल बनाएर विषादीमुक्त खेती गर्न थालेपछि अहिले उहाँको प्रशंसा गाउँभरि हुन थालेको छ ।

दुर्गा महिला समूह कुशहाकी अध्यक्षसमेत रहेकी चौधरीले कारितास नेपालको सहयोगमा श्रीपुर्राज सामुदायिक विकास केन्द्र सप्तरीले सञ्चालन गरेको ग्रामीण महिलाका लागि सामाजिक, आर्थिक, सशक्तीकरण कार्यक्रमअन्तर्गत जैविक मल बनाउने तालीम लिएर घरमै जैविक मल बनाउन थाल्नुभएको हो ।

यस्तै, सुरुङ्गा नगरपालिका–७ बसनपट्टीकी गुलाबदेवी रामले घरमै झारपातबाट जैविक मल बनाउँदै आउनुभएको छ । रासायनिक मललाई निरुत्साहित गरी खेतीपातीमा जैविक मलको प्रयोग बढाउन गाउँमै उहाँले जैविक मल बनाउन थाल्नुभएको हो ।

“कृषि क्रान्तिमा टेवा पु¥याउने सोच पलाएपछि जैविक मल बनाएर विषादीरहित खेतीतर्फ आकर्षित भएकी हुँ,” रामले भन्नुभयो । रासायनिक मलको अत्यधिक प्रयोगबाट मानव स्वास्थ्यमा मात्र असर पार्ने होइन माटो र खेतको उर्वरा शक्तिमा समेत ह्रास आउने गरेको छ । आगामी वर्षबाट बढी मात्रामा मल उत्पादन गरी बिक्री गरेर आम्दानी गर्ने उहाँको योजना छ ।

रासायनिक मलभन्दा जैविक मलको प्रयोगबाट पर्याप्त उत्पादन हुने बुझेपछि चौधरी र रामले मात्रै होइन, सुरुङगा नगरपालिकामा गठन भएका पाँचवटा महिला समूहका अधिकांश महिला सामूहिक रुपमा जैविक मल बनाउन जुटेका छन् । व्यावसायिक रुपमै जैविक मल बनाउन शुरु गरेकी बलान महिला समूह कुशहाकी मञ्जु चौधरी भन्नुहुन्छ, “पहिला धान, गँहु र अन्य तरकारी खेती गर्दा रासायनिक मल (युरिया, डिएपी मलकै प्रयोग हुने गर्दथ्यो, अब आफैँले तयार पारेको जैविक मल प्रयोग गर्न थालेका छौँ ।” महिलाकै सक्रियामा विषादीरहित खेतीको अभियान शुरु भएपछि गाउँका पुरुष पनि उत्साहित भएर आफूहरुको अभियानमा साथ दिन थालेको चौधरी बताउनुहुन्छ ।

महिला समूह बनाएपछि त्यही मार्फत समूहमै श्रीपुर्राज सामुदायिक विकास केन्द्रले जैविक मल बनाउन तालीम प्रदान गरेको हो । सहुलियत दरमा मल बनाउन प्रयोग हुने कृषि चुना उपलब्ध भएपछि उनीहरुले सामूहिक रुपमा जैविक मल बनाउन थालेका छन् ।

विषादीरहित खेती गर्ने उद्देश्यले जैविक मल बनाउन थालेका सुरुङ्गा नगरपालिकाको विभिन्न वडाका महिला समूहका १०० भन्दा बढी महिलालाई केही दिनअघि जैविक मल उत्पादनबारे जानकारी गराइएको थियो । घरकै काममा सीमित यहाँका महिला व्यावसायिक रुपमा जैविक मल उत्पादन गर्न थालेका छन् ।

Purbeli TV

तपाईको प्रतिक्रिया