फार्मेसीको अनुगमन तीव्र, भेटिए धेरै बद्मासी

माेरङ / कोरोना भाइरसको त्रास बढिरहहँदा औषधि व्यवस्था विभाग विराटनगरले भने फार्मेसी (औषधि पसल) को अनुगमनलाई तीव्र पारेको छ । त्यस क्रममा फार्मेसी सञ्चालकले ठूलै बद्मासी गर्ने गरेको पाइएको छ । विराटनगर अस्पताल एवं विराट नर्सिङ होमभित्र सञ्चालनमा रहेको मेडी प्लस फार्मेसीले म्याद सकिएको औषधि बिक्री गर्दै बिरामीको स्वास्थ्यमाथि खेलवाड गरिरहेको पाइएको छ । अनिल चौधरीले सञ्चालन गरेको यो फार्मेसीबाट जेसिक्स–४०० ब्राण्डको सेसिकजीम नामक औषधि म्याद सकिए पनि बेच्ने काम भइरहेको पाइएको छ ।

विभागका विराटनगर प्रमुख सञ्जीव कट्टेलले शरीरमा भएको संक्रमण रोक्न प्रयोग गरिने यो औषधि प्रयोगको अन्तिम मिति गत जेठ ५ गतेसम्मको मात्रै रहेको जानकारी दिए । फार्मेसीले विज्ञ बिनानै बिरामीलाई औषधि बेच्दै अर्को बद्मासी गरिरहेको पनि पाइएको छ । फार्मेसी पढेको र अनुमति प्राप्त व्यक्ति एवं विज्ञले मात्रै औषधि बेच्न पाउने भए पनि व्यवस्थापन पढेकाले यो फार्मेसीमा औषधि बेच्ने काम गरिरहेको कट्टेलले बताए ।

विज्ञभन्दा अरुलाई औषधि कुन बेला प्रयोग गर्ने र चिकित्सकले कस्ता औषधि सिफारिस गरे भन्ने नै थाहा नहुने उनको भनाइ छ । म्याद सकिएको औषधि बेच्ने उक्त फार्मेसीको नवीकरण नै नगरेको पाइएको विभागका प्रमुख कट्टेलले बताए । उनकाअनुसार विभिन्न नवीकरण म्याद २०७६ माघमै सकिए पनि अवैध ढंगले औषधि बेच्ने काम भइरहेको पाइएको छ । फर्मेसीमा अवैध रुपमा बिक्रीका लागि राखिएका दुई कार्टन खाद्य पुरक सामग्री समेत जफत गरिएको जानकारी उनले दिए ।

विभागले कारबाही अघि बढाउन फार्मेसीबाट सबै कागजपत्र जफत गर्दै सञ्चालक अनिल चौधरीलाई पाँच दिनभित्रमा उपस्थित हुन निर्देशन दिएको छ । फर्मेसीका कर्मचारी नारायण दाहालले औषधि बेच्ने क्रममा केही कमजोरी भने स्वीकार गरे ।

त्यस्तै विराट नर्सिङ होम आसपासमा विज्ञ बिनानै औषधि बेच्ने दुईवटा फार्मेसीमाथि पनि कारबाही अघि बढाइएको विभागले जनाएको छ । सप्तरीका कृष्णकुमार यादवले सञ्चालन गरेको महेश मेडिकल हल र सिरहाका रवीन्द्र महतोले सञ्चालन गरेको पश्चिमवासी फार्मेसीमाथि छानबिन भइरहेको विभागका विराटनगर प्रमुख कट्टेलले बताए ।

महेश मेडिकलमा अनुमति प्राप्त व्यवसायी÷फार्मेसिस्ट देवनारायण यादव र पश्चिमवासीमा राजेन्द्रप्रसाद मण्डल बसेर औषधि बेच्नु पर्नेमा अरु नै व्यक्तिले औषधि बिक्री गरिरहेको फेला परेको विभागले जनाएको छ । मान्यता प्राप्त विज्ञ नरहेको र औषधि बिक्रीमा अरुनै व्यक्ति प्रयोग गर्ने दुवै फार्मेसीको औषधि दर्ता प्रमाणपत्र (लाइसेन्स) नियन्त्रणमा लिएर तत्काललाई औषधि बिक्री बन्द गर्न निर्देशन दिइएको प्रमुख कट्टेलले बताए ।

उनकाअनुसार विभागको टोलीले दुईवटा फार्मेसीको लाइसेन्स नियन्त्रणमा लिइरहँदा यी दुईवटाको बीचमा रहेको गोलबजार फार्मेसीका सञ्चालक भने सटर लगाएर पसल बन्द गर्दै फरार बनेका थिए ।

तपाईको प्रतिक्रिया

Loading…