फरार प्रतिवादी पक्राउमा मोरङ प्रहरी अगाडि


विराटनगर / अदालतबाट कैद तथा जरिवानाको फैसला भए पनि फरार रहेका प्रतिवादीलाई पक्राउ गर्नेमा मोरङ प्रहरीको भुमिका प्रभावकारी देखिएको छ ।
प्रदेश १ का १४ जिल्ला मध्ये फरार प्रतिवादी पक्राउमा मोरङ प्रहरी अगाडि रहेको हो । कर्तव्य ज्यान, जवरजस्ती करणी, करणी उद्योग, लागुऔषध, चोरी, बहुविवाह, ठगी, किर्ते लगायत एक दर्जन बढी अपराधिक घटनामा संलग्न मध्ये ठुलो संख्याका प्रतिवादी अदालतबाट दोषी ठहर भए पनि पक्राउ पर्न सकेका छैनन् । पुस महिनामा प्रदेश भरीबाट पक्राउ परेका तीन सय ८२ जना फरार प्रतिवादी मध्ये मोरङबाट पक्राउ पर्नेको संख्या मात्रै तीन सय २६ रहेको छ । प्रदेश १ प्रहरी कार्यालय विराटनगरका
डीएसपी सिद्ध न्यौपानेले अन्य जिल्लाको तुलनामा प्रतिवादी पक्राउमा मोरङको भुमिका प्रभावकारी देखिएको जानकारी दिए ।

उनका अनुसार पुस महिनामा मोरङबाट तीन सय २६ जना फरार प्रतिवादी पक्राउ परेका छन् । झापाबाट १९, सुनसरीबाट १२, ओखलढुंगाबाट आठ, उदयपुर र पाँचथरबाट पाँच/पाँच, ताप्लेजुङबाट तीन, संखुवासभा र तेह्रथुमबाट दुई/दुई जना फरार प्रतिवादी पक्राउ परेका छन् । खोटाङ, इलाम, सोलुखुम्बु, धनकुटा र भोजुरबाट पुस महिनामा फरार प्रतिवादी पक्राउ परेका छैनन् । विभिन्न अपराधिक घटनामा संलग्नलाई अदालतले दोषी ठहर गर्दै कैद तथा जरिवानाको फैसला गरे पनि भुक्तान नगरिकन ति प्रतिवादी लामो समयदेखि फरार रहेका थिए ।

मोरङ प्रहरीका प्रवक्ता डीएसपी घनश्याम क्षेष्ठका अनुसार पुस महिनामा तीन सय २६ जना प्रतिवादीलाई पक्राउ गर्दा ७६ वर्ष तीन महिना आठ दिन कैद र ७४ लाख ६७ हजार पाँच ९१ रुपैयाँ चार पैसा जरिवाना असुल भएको छ । अहिले सम्मकै ठुलाे संख्यामा पुस महिनामा फरार प्रतिवादी पक्राउ गर्न सकिएको उनले बताए । उनका अनुसार पुस महिनामा सबै भन्दा बढी मोरङमा इलाका प्रहरी कार्यालय रंगेलीबाट एक सय १५ जना पक्राउ परेका छन् । इलाका प्रहरी कार्यालय कार्यालयहरु उर्लाबारीबाट २३ जना, पथरीबाट २२, बेलबारीबाट २३, लेटाङबाट आठ, रानीबाट २१, सिजुवाबाट तीन, हरैंचाबाट २९ र नेमुवाबाट १६ जना फरार अपराधी
पक्राउ परेको जानकारी डीएसपी क्षेष्ठले दिए । वडा प्रहरी कार्यालय विराटनगर ‘क’ बाट २४, जिल्ला प्रहरी कार्यालयबाट चार, वडा प्रहरी कार्यालय हाटखोलबाट २९ र प्रहरी चौकी मझारेबाट नौ जना फरार प्रतिवादी पक्राउ परेका हुन् ।

मोरङमा साउनमा एक, भदौमा सात, असोजमा १० र मंसिर महिनामा २३ जना मात्रै फरार प्रतिवादी पक्राउ परेका थिए । ‘प्रतिवादी फरार हुँदा अदालतले गरेको फैसला कार्यान्वायनमा समस्या भइरहेको थियो,’ डीएसपी क्षेष्ठले भने, ‘फैसला कार्यान्वायन एवं प्रतिवादीबाट कैद तथा जरिवाना असुल गर्नका लागि प्रहरीले विशेष अभियान संचालन गरेको छ ।’ प्रहरीले धमाधम पक्राउ गर्न थालेपछि पक्राउ परिने डरले दोषी ठहर भए पनि फरार रहेका कतिपय प्रतिवादी आफै अदालतमा जान थालेको बताइएको छ ।
प्रहरीले पक्राउ गरेर बुझाएपछि अदालतले जरिवनाका तोकिएका प्रतिवादीलाई जरिवाना तिराएर छाड्ने गरेको छ भने कैद सजाय तोकिएका प्रतिवादीलाई कैद सजाय भुक्तानका लागि कारागार पठाउने गरेको छ । जिल्ला अदालत मोरङका स्रेस्तेदार ईश्वरमणि ओझाले अदालतले अन्तिम फैसला सुनाएर दोषी ठहर गरे पनि प्रतिवादी फरार भएर पक्राउ गर्न नसकिंदा २००३ सालदेखि हाल सम्म कैद र १६ करोड ७६ लाख ६३ हजार सात सय २१ रुपैयाँ ५८ पैसा जरिवाना असुल गर्न बाँकी रहेको बताए । उनले फरार रहेका अपराधीलाई पक्राउ गर्न र उनीहरुबाट कैद तथा जरिवाना असुल गर्नका लागि प्रहरीसंग समन्वय गरेर फैसला कार्यान्वायन विशेष अभियान संचालन गरिएको जानकारी दिए ।

तपाईको प्रतिक्रिया

Loading…